भत्किए गढ
bishowkhabar.com · Thu Jun 11 10:36:51 GMT 2026

गंगा बराल
२०४८ सालदेखि भक्तपुर क्षेत्र नं. १ नेपाल मजदुर किसान पार्टीको कब्जामा थियो । भक्तपुर १ मा अरु पार्टीले जित्ने र नेमकिपाले हार्ने कल्पना गर्दैन थिए । भक्तपुर क्षेत्र नम्बर १ मा नेमकिपाको किल्ला भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकेश रन्जित विजयी भए । निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाललाई ५ हजार बढी मतान्तरले पछि पार्दै रन्जित विजयी भएका हुन् ।
डडेलधुराको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशी १९,१३१ मत प्राप्त गरी विजयी भए । उनले यसअघि लगातार ३४ वर्षसम्म उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको विरासत भत्काउँदै ऐतिहासिक जित हासिल गरेका हुन् ।
कोशी प्रदेशमा हर्क साम्पाङ नेतृत्वको दलको प्रभावका कारण ठूला दलहरूको गढ भत्किएको थियो भने मधेशका कतिपय क्षेत्रमा पुरानो ठेकेदारी प्रथा र स्थापित दलका गढहरू ढलेका थिए । नयाँ पुस्ताको हस्तक्षेपले पुराना समीकरण उल्टिएका छन् ।
नेपालको राजनीतिमा वि.सं. २०८२ को आम चुनावले एउटा ठूलो परिवर्तन मात्र ल्याएन, वर्षौँदेखिको स्थापित संरचनालाई नै पूरै भत्काइदियो । विगत तीन दशकभन्दा बढी समयदेखि यो हिमाली देशको राजनीति ‘पुराना दलहरू’ को एउटा निश्चित घेराभित्र मात्र घुमिरहेको थियो । नेपाली कांग्रेस, नेकपा (एमाले), र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पालैपालो सरकार बनाउने र भत्काउने खेल खेलिरहे । उनीहरूका पछाडि विगतका सशस्त्र संघर्ष, लोकतान्त्रिक आन्दोलनको विरासत र ठूलठूला वैचारिक नाराहरूको बलियो जग थियो । तर, २०८२ सालको यो निर्वाचनले ती सबै विरासतका पर्खालहरूलाई एकै झट्कामा ढालीदियो ।
ऐतिहासिक निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभामा स्पष्ट बहुमत हासिल गर्दै कुल २७५ सिटमध्ये १८२ सिटमा सानदार जित दर्ता गर्यो । यस जितसँगै रास्वपाले नेपालको राजनीतिमा लामो समयदेखि चल्दै आएको अस्थिर गठबन्धनको बाध्यतालाई सदाका लागि अन्त्य गरिदिएको छ । यस राजनीतिक आँधीको नेतृत्व गरेका थिए, रास्वपाका सभापति एवं पूर्व चर्चित सञ्चारकर्मी रवि लामिछाने र काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिई सिधै देशको प्रधानमन्त्रीको कुर्सीमा पुग्न सफल ३५ वर्षीय स्ट्रक्चरल इन्जिनियर तथा र्यापर बालेन्द्र शाह ‘बालेन’ले ।
नेपालको लोकतान्त्रिक इतिहासमा पहिलो पटक, आम मतदाताले अमूर्त राजनीतिक सिद्धान्त र विचारधारालाई त्यागेर नेताहरूको ‘काम र परिणाम’ लाई सामूहिक रूपमा रोजेका छन् ।
‘वाद’ हरूको अन्त्य
विगतका पुस्ताहरूका लागि कुनै पनि उम्मेदवार मार्क्सवाद–लेनिनवाद, प्रजातान्त्रिक समाजवाद वा बहुदलीय जनवादप्रति कत्तिको बफादार छ भन्ने कुरा नै सत्तामा पुग्ने टिकट बन्ने गर्थ्यो । तर, देशको चरम आर्थिक संकट, बेरोजगारी र राज्य संयन्त्रप्रति युवा पुस्तामा बढेको तीव्र आक्रोशले यस पटक राजनीतिको नियम नै बदलिदियो । करिब ८ लाखभन्दा बढी नयाँ मतदाताहरू सहितको युवा जनसंख्या पुराना पार्टीका झन्डा र दशकौँ पुराना चुनावी घोषणापत्रहरूबाट पूरै निराश भइसकेको थियो ।
त्यसैले, युवाहरूले सिद्धान्त होइन, विगतको ‘कामको ट्र्याक रेकर्ड’ हेरे । उनीहरूले बालेन्द्र शाहले काठमाडौँको मेयर हुँदा गरेका सहरी व्यवस्थापन, सुशासन, र शिक्षा क्षेत्रमा ल्याएको जवाफदेहितालाई मूल्यांकन गरे । उनीहरूले रवि लामिछाने र धरानका हर्क साम्पाङ जस्ता भुइँमान्छेहरूले स्थानीय स्तरमा ल्याएको सुधारलाई हेरे । चुनावको मुख्य भाष्य नै बदलिएको थियोः ‘तिम्रो पार्टीको विचार के हो?’ भन्ने प्रश्न हरायो र त्यसको ठाउँमा ‘तिमीले अहिलेसम्म के काम गरेर देखायौ?’ भन्ने प्रश्नले प्राथमिकता पायो ।
राजनीतिक विश्लेषक तथा समाजशास्त्री डा. अञ्जली सुवेदी भन्छिन्, ‘२०८२ को चुनाव नेपालको राजनीतिमा ‘वाद’ र सिद्धान्तको अन्धभक्तिबाट माथि उठेको ऐतिहासिक क्षण हो । पुराना दलहरूले हामीलाई इतिहासको त्याग र वैचारिक शुद्धताको कथा बेचिरहे, तर युवाहरूले कामको नालीबेली मागे । बालेन शाहले कुनै ठूलो घोषणापत्रका कारण जितेका होइनन्; उनले सडकपेटी खाली गराए, सरकारी सेवालाई डिजिटलाइज गरे, र सरकारले चाहेमा काम गर्न सक्छ भन्ने कुरा भुइँमै उतारेर देखाए ।’
पुराना किल्लाहरूको पतन
पुराना शक्तिहरूको पराजय कति कहालीलाग्दो थियो भन्ने कुरा मुख्य चुनावी क्षेत्रहरूको नतिजाबाट प्रस्ट हुन्छ । सबैभन्दा प्रतिक्षित र प्रतीकात्मक भिडन्त झापा क्षेत्र नम्बर ५ मा भयो, जुन क्षेत्र चार पटक प्रधानमन्त्री भइसकेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको अभेद्य किल्ला मानिन्थ्यो ।
काठमाडौँको रैथाने राजनीति छोडेर बालेन शाहले ओलीकै गृहक्षेत्रमा गएर उम्मेदवारी दिने निर्णय गर्दा धेरैले यसलाई ‘राजनीतिक आत्महत्या’ भनेका थिए । तर, परिणामले दक्षिण एसियाकै राजनीतिक वृत्तलाई स्तब्ध बनाइदियो । शाहले ६८,३४८ मत प्राप्त गर्दा ओलीले मात्र १८,७३४ मत पाए—अर्थात बालेनले झन्डै ५०,००० को ठूलो मतान्तरले विजय हासिल गरे ।
चितवन क्षेत्र नम्बर २ बाट रास्वपा सभापति रवि लामिछानेले भारी मतका साथ विजय निरन्तर राखे । यसले के प्रमाणित गर्यो भने, पुराना दलहरूले उनीमाथि लगाएका अनेकौँ कानुनी झमेला र घेराबन्दीका बाबजुद जनतामा उनको क्रेज अलिकति पनि घटेको थिएन ।
भुइँतहका आवाजहरू
ठूलो राजनीतिक परिवर्तनलाई बुझ्नका लागि, चुनावी मैदानमा खटिएका र परम्परागत पार्टी संयन्त्रलाई चुनौती दिँदै सामाजिक सञ्जाल र प्रविधिको प्रयोग गरेर अभियान चलाउने युवाहरूको कुरा सुन्नु आवश्यक छ । काठमाडौं १ मा चुनावी अभियानमा सहभागी २४ वर्षका युवा आयुष श्रेष्ठ भन्छन्, ‘विगतमा पुराना पार्टीहरूले हामी युवाहरूलाई केवल भीड जम्मा गर्ने, झन्डा बोक्ने, र सडकमा नारा लगाउने ‘कार्यकर्ता’ का रूपमा मात्र प्रयोग गरे । तर यस पटक हाम्रो चुनावी अभियानमा न त ठूलठूला ब्यानर थिए, न त पैसा दिएर बोलाइएका मानिसहरू । हामीले सरकारी विद्यालयको सुधार, फोहोर व्यवस्थापन, र स्वदेशमै रोजगारी सिर्जना गर्ने कुरा गर्यौँ ।’
रास्वपाको यो लहर काठमाडौँ उपत्यकामा मात्र सीमित रहेन । रास्वपाले उपत्यकाका सबै सिटहरू क्लिन स्विप गर्नुका साथै मधेस र कोशी प्रदेशका पुराना दलका बलिया भोट बैंकहरूमा समेत ठूलो धक्का दियो, जसले गर्दा नेपाली कांग्रेस र क्षेत्रीय दलहरूको जग नै हल्लियो ।
कांग्रेस नेता चन्द्र भण्डारी पार्टीको पराजय एउटा कडा तर आवश्यक पाठ भएको बताउँछन् । उनी भन्छन्, हामी पाँचतारे होटलहरूमा बसेर सत्ताको गणित र समीकरण मिलाउनमै व्यस्त रह्यौँ, तर सामान्य नेपालीको भान्साको महँगी र दुःखलाई बिर्सियौँ । युवाहरूले हाम्रो सिद्धान्तलाई छोडेका होइनन्, उनीहरूले हाम्रो अक्षमता र अकर्मण्यतालाई सजाय दिएका हुन् ।
बदलिएनन् दल, बदलिए मतदाता
आम निर्वाचन अभियान र यसको परिणाम पछि नेपाली समाज र सञ्चारमाध्यमको भाषामा एउटा निकै रोचक र महŒवपूर्ण परिवर्तन देखियो । सञ्चारमाध्यम र आम जनताले नागरिकहरूलाई परम्परागत रूपमा प्रयोग गरिने ‘कार्यकर्ता’ वा ‘जनता’ भन्न छोडेर, विश्वव्यापी रूपमा मतदाता शब्दको प्रयोग गर्न थाले ।
पुराना राजनीतिक दलहरूले नागरिकहरूलाई आफ्नो स्थायी सम्पत्ति वा ‘भोट बैंक’ को रूपमा हेर्ने गर्थे । मानिसहरूलाई उनीहरूको वैचारिक आबद्धताका आधारमा ’कांग्रेसी’, ‘एमाले’ वा ‘माओवादी’ को चश्माले हेरिन्थ्यो ।
आफूलाई कार्यकर्ता बाट मतदातामा रूपान्तरण गरेर नागरिकहरूले आफूलाई राजनीतिक बजारको एक सचेत उपभोक्ताका रूपमा उभ्याएका छन् । एउटा मतदाताले कुनै पनि पार्टीलाई आजीवन समर्थनको ग्यारेन्टी दिँदैन; उसले नेताको कामको मूल्यांकन गर्छ, जवाफदेहिता माग्छ, र काम नगरे अर्को चुनावमा पदबाट हटाउने सार्वभौम अधिकार प्रयोग गर्छ । यो नेपाली जनताको चेतना दासत्वबाट विवेकशील नागरिकतर्फ मोडिएको प्रमाण हो ।
पुराना समस्या र नयाँ नेतृत्व
३५ वर्षको युवा उमेरमै नेपालको इतिहासकै कान्छो प्रधानमन्त्रीका रूपमा बालेन शाहले सिंहदरबारको यात्रा तय गर्दा चुनावी जितको खुसीयाली सँगसँगै चुनौतीका पहाडहरू पनि अगाडि उभिएका छन् । नवगठित रास्वपा सरकारको अगाडि थला परेको अर्थतन्त्रलाई उकास्ने, युवा पलायन (ब्रेन ड्रेन) रोक्ने, संस्थागत भ्रष्टाचारको अन्त्य गर्ने र छिमेकी राष्ट्रहरू भारत र चीनसँगको भू–राजनीतिक सन्तुलन मिलाउने जस्ता कठीन चुनौतीहरू छन् ।
अब पुराना दलहरूलाई सरापेर वा ‘खराब प्रणाली’ को बहाना बनाएर उम्किने छुट यो नयाँ सरकारलाई छैन । युवाहरूले काम, सुशासन र सुदृढ व्यवस्थापनको वाचा गरेर चुनाव जितेका हुन् । अब संसद् र कार्यपालिका दुवैमा पूर्ण बहुमत रहेको अवस्थामा युवाहरूले आफ्नो व्यावहारिक कार्ययोजनालाई कति सफल बनाउँछन् हेर्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)