मीनबहादुरको मन
bishowkhabar.com · Thu Jun 11 11:10:26 GMT 2026

मानिससँग धन हुनु र मन हुनु दुई फरक कुरा हुन् । संसारमा धन हुनेहरू धेरै छन्, तर धनसँगै अरूको सेवामा पग्लिने ‘मन’ हुनेहरू विरलै भेटिन्छन् । तिनै विरलै भेटिने मनहरूमध्येका एक हुन्– भाटभटेनी समूहका अध्यक्ष तथा प्रतिष्ठित व्यवसायी मीनबहादुर गुरुङ । देशमा कोभिडको महामारी होस्, बाढी–पहिरोको वितण्डा होस् वा गरिब तथा जेहेन्दार विद्यार्थीहरूको भविष्य उज्यालो बनाउने अभियान, गुरुङको हात सधैँ अगाडि बढ्छ । मानवताप्रति समर्पित उनको यही कञ्चन मनको एउटा ऐतिहासिक र भव्य रूप फेरि एकपटक काठमाडौँको बुढानीलकण्ठमा प्रकट भएको छ ।
९ जेठ, २०८२ शनिबारका दिन बुढानीलकण्ठको वातावरण उत्सवमय र आध्यात्मिक थियो । अवसर थियो— वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको परिकल्पना र पहलमा निर्माण भइरहेको ‘काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच) बाल अस्पतालको नवनिर्मित भवन हस्तान्तरण तथा समुद्घाटन । व्यवसायी मीनबहादुर गुरुङले आफ्ना मातापिताको सम्मानमा एकल लगानीमा कुल ७१ करोड ४ लाख ४२ हजार २४४ रुपैयाँको लागतमा यो अत्याधुनिक भवन निर्माण गरिदिएका हुन् ।
विशेष समारोहका बीच जगद्गुरु शङ्कराचार्य श्री श्री विधुशेखर भारतीको पावन उपस्थिति र उनकै पवित्र हातबाट अस्पतालका अध्यक्ष डा. भगवान कोइरालालाई भवनको साँचो हस्तान्तरण गरियो ।
आजीवन समाजसेवा गर्ने सङ्कल्प सफल भयो
भवन हस्तान्तरण गरिरहँदा दानवीर मीनबहादुर गुरुङको अनुहारमा एउटा छुट्टै सन्तुष्टि र आँखामा भावुकता झल्किएको थियो । आफ्नो तर्फबाट यो ठूलो गुन देशलाई सुम्पिन पाउँदा भावविह्वल बनेका गुरुङले कार्यक्रममा आफ्नो मनको कुरा खोले, ‘साँचो हस्तान्तरण गर्न पाएकोमा म भावविह्वल भएको छु । यो गौरवपूर्ण क्षणमा हामी सबै नेपालीमा नयाँ उत्साहको सञ्चार भएको छ र मेरो आजीवन समाजसेवा गर्ने सङ्कल्प सफल बनेको छ ।’ उनले स्वास्थ्यलाई मानव जीवनको मूल आधार मान्दै अगाडि भने, ‘मानवको आधारभूत आवश्यकता मध्ये स्वास्थ्य सेवा प्रमुख आवश्यकता हो । स्वास्थ्य रक्षा भयो भने मात्र जीवनमा उन्नति हुन्छ र सफल, सुख–सन्तोष पनि प्राप्त हुन्छ । हाम्रा त्रिकालदर्शी ऋषि महर्षिहरूले आरोग्यलाई जीवनको मूल शक्ति र उत्तम पुरुषार्थ मान्नुको कारण पनि यही हो । बाल्यकालदेखि नै स्वास्थ्य रक्षा हुन सक्दा मात्र देशको चौतर्फी उन्नतिका लागि अपेक्षित नागरिकको निर्माण हुन सक्छ ।’
नेपालमा बाल मृत्युदरको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै गुरुङले अस्पताल स्थापनाको मूल मर्म प्रष्ट पारे, ‘नेपालमा विद्यमान बाल मृत्युदरलाई हेर्ने हो भने बाल स्वास्थ्यको रक्षा देशकै उच्च प्राथमिकताको विषय बन्नुपर्ने देखिन्छ । यही आवश्यकतालाई मध्यनजर गरी सर्वसाधारण जनताका छोराछोरीहरूको पनि सस्तो, सुलभ र सरल ढङ्गबाट गुणस्तरीय उपचार हुन सकोस् भन्ने उद्देश्यका साथ यो अस्पतालको स्थापना गरिएको हो । यो प्रयास सेवा र कर्तव्यबोधको भावनाबाट अघि बढेको हो । सन्त महात्माहरूको दर्शन, आशीर्वचन र उपदेशले नै हामीलाई समाजसेवाका यस्ता सत्कर्ममा लाग्ने प्रेरणा प्राप्त भएको छ । यस पावन अवसरमा भविष्यमा पनि लोककल्याणका यस्तै कार्य गरिरहने प्रेरणा पाउँदछु ।’
हाम्रा लागि ताजमहल
समारोहमा बोल्दै देशकी पहिलो महिला प्रधानन्यायाधीश एवं निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले व्यवसायी गुरुङको दानशीलतालाई ऐतिहासिक उपमा दिइन् । बुढानीलकण्ठ क्षेत्रकै बासिन्दा समेत रहेकी कार्कीले भनिन्, ‘कर्णको रूपमा दानी हाम्रो व्यापार घराना क्षेत्रमा नाम चल्नुभएको प्रतिष्ठित व्यक्तित्व मीनबहादुर गुरुङज्यू र उहाँको धर्मपत्नी, उहाँहरू सबैको यसरी मन मिलेको हुनाले हाम्रा निम्ति त भारतमा ताजमहल बने जत्तिकै यो संस्था बन्यो । मलाई असाध्यै खुसी लागेको छ ।’
कार्कीले यो अस्पतालले गरिब बालबालिकालाई ठूलो राहत दिने विश्वास व्यक्त गर्दै भनिन्, ‘अब बालबालिका, गरिब सबैले एउटा निस्वार्थ रूपमा सेवा पाउने यो संस्थाको प्रादुर्भाव भएको छ । र यो संस्थाको जन्म दुईवटा व्यक्तित्व (मीनबहादुर गुरुङ र डा. भगवान कोइराला) बाट र उहाँहरूको तन, मन, धन र लगनशीलताबाट जसरी बन्यो, त्यसपछि यो संस्थाले त कस्तो अवसर पायो भने जगद्गुरु शङ्कराचार्य महास्थान दक्षिणाम्नाय श्री शारदापीठ शृङ्गेरी जगद्गुरु शङ्कराचार्य अनन्त श्री विभूषित श्री श्री भारती तीर्थजी महाराजजीको अर्थात् श्री श्री जगद्गुरु शङ्कराचार्यबाट यसको उद्घाटन भयो । यो एउटा उहाँको कृपाबाट, सदैव उहाँको आशीर्वाद र उहाँका पूर्वज शङ्कराचार्य समेतको आशीर्वाद पायो यो संस्थाले । त्यसैले यो संस्था अब अटल संस्था हुन्छ भन्ने आशा छ ।’
कार्कीले डा. भगवान कोइरालाको पवित्र विचार र मीनबहादुर गुरुङको उदारताको प्रशंसा गर्दै जगद्गुरुले गुरुङलाई दिएको ‘तिम्रो मन सधैँ यसरी नै धर्म र पुण्य काममा खुलिरहोस्’ भन्ने आशीर्वाद सदा पूरा हुने विश्वास व्यक्त गरिन् ।
धन मात्र भएर हु“दैन, चलाउने मन र सामूहिक शक्ति चाहिन्छ
विशेष समारोहलाई सम्बोधन गर्दै जगद्गुरु शङ्कराचार्य श्री श्री विधुशेखर भारतीले मीनबहादुर गुरुङको कार्यलाई दैवी प्रकृतिको कार्यका रूपमा व्याख्या गरे । धन हुनु र त्यसलाई धर्ममा लगाउनु फरक कुरा भएको उल्लेख गर्दै उनले भने, ‘अस्पतालको निर्माणका लागि उहाँले निकै ठूलो सेवा गर्नुभएको छ । अझ विशेष कुरा, आगामी दिनमा यहाँ आउने विपन्न र उपचार खर्च जुटाउन असमर्थ बालबालिकाहरूको उपचारका लागि उहाँले ‘उपचार कोष’ को समेत व्यवस्था गरिदिनुभएको छ । त्यसमा पनि जगद्गुरु शङ्कराचार्यको नामबाट एउटा अक्षय कोष (निधि) स्थापित गरेर बालबालिकाको भलाइका लागि जुन व्यवस्था गर्नुभयो, यो अत्यन्तै सन्तोषजनक कुरा हो । यसका लागि म उहाँ र उहाँको सम्पूर्ण परिवारलाई नारायण स्मरणपूर्वक आशीर्वाद दिन्छु ।’
जगद्गुरुले अगाडि थपे, ‘आगामी दिनमा पनि यो सामर्थ्य भगवानले प्रदान गर्नुहुनेछ, अघि बढाउने मन पनि दिनुभएको छ । पैसा हुनेले पनि यो निकै कम गर्छन् । पैसाले मात्रै पनि केही काम हुँदैन । पैसाले आफैँ काम गर्दैन, चलाउन पैसा चाहिन्छ । यसलाई कसरी उपयोग गर्ने हो भन्ने सोच्नुपर्छ । यो पैसालाई ठिक तरिकाले चलाउन जान्नुपर्छ । एक व्यक्तिले मात्रै काम पनि हुँदैन । सबै यसमा जोडिनुपर्छ । त्यसका लागि जनबल चाहिन्छ, सामूहिक शक्ति चाहिन्छ । सबै मिलेर काम गर्न सकियो भने मात्रै प्रतिफल प्राप्त हुन्छ ।’ उनले डा. भगवान कोइरालाले सबैलाई एकजुट बनाएर गरेको यो सत्कर्मको प्रशंसा गर्दै अस्पतालका सम्पूर्ण चिकित्सक, ट्रष्टी र सहयोगीहरूलाई आशीर्वाद प्रदान गरे ।
एउटा उद्देश्य, सातै प्रदेशमा सञ्जाल
अस्पतालका अध्यक्ष तथा वरिष्ठ चिकित्सक डा. भगवान कोइरालाले सम्पूर्ण पाहुनाहरूलाई स्वागत गर्दै अस्पताल निर्माणमा सहयोग गर्ने सबै सहयोगी मनहरूप्रति आभार प्रकट गरे । मीनबहादुर गुरुङजस्ता सहृदयी दाताकै कारण आज यो सपना साकार भएको उनले बताए । काठमाडौँको बुढानीलकण्ठमा स्थापित यो अस्पतालले अब हजारौँ बालबालिकालाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछ । तर, किओचको लक्ष्य यतिमा मात्र सीमित छैन । यसले काठमाडौँलाई केन्द्र बनाएर देशका सातै वटा प्रदेशमा बाल स्वास्थ्य सेवाको सञ्जाल विस्तार गर्ने र गाउँ–गाउँका बालबालिकालाई उपचार अभावमा मर्न नदिने दीर्घकालीन लक्ष्य लिएको छ ।
दानवीरताको पर्यायः मीनबहादुर गुरुङ
मीनबहादुर गुरुङका लागि यो दान पहिलो र नयाँ भने होइन । उनी नेपालका यस्ता उद्यमी हुन्, जसले व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई आफ्नो जीवनको मन्त्र बनाएका छन् । यसअघि पनि उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), महाराजगञ्जमा आफ्ना स्वर्गीय आमा–बुवाको स्मृतिमा भव्य भवन निर्माण गरी अस्पताललाई हस्तान्तरण गरिसकेका छन् ।
देशभर भाटभटेनीका शाखाहरू विस्तार गरेर हजारौँलाई रोजगारी दिएका गुरुङले स्थानीय स्तरमा पनि नियमित सहयोग गर्दै आएका छन् । ‘भाटभटेनी फाउन्डेसन’ मार्फत उनले थुप्रै गरिब, असहाय तथा जेहेन्दार विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्दै उनीहरूको अभिभावकत्व ग्रहण गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)