जोखिम बढेपछि पुलमा मोटरसाइकल गुडाउनै नमिल्ने संरचना निर्माण
gorkhapatraonline.com · Thu Jun 11 11:38:31 GMT 2026

तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने त्रिशूली नदीमाथिको ४४ वर्ष पुरानो झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालन स्थायी रूपमा रोक्न संरचनागत अवरोध निर्माण गरिएको छ। पुल अत्यधिक जीर्ण बन्दै गएपछि सम्भावित दुर्घटना रोक्न जिल्ला प्रशासन कार्यालय चितवनले पुलको चितवनतर्फको प्रवेशद्वारमा फलामे ब्यारिकेड जडान गरी मोटरसाइकल गुडाउनै नमिल्ने व्यवस्था गरेको हो।
यसअघि बाँसको अस्थायी अवरोध राखिएको भए पनि त्यसलाई बेवास्ता गर्दै सर्वसाधारणले पुलमा मोटरसाइकल हुइँक्याउन थालेपछि प्रशासनले स्थायी प्रकृतिको फलामे अवरोध निर्माण गरेको जनाएको छ। अब पुलबाट मोटरसाइकलमा यात्रा गर्न मिल्ने छैन। वि.सं. २०३७ मा निर्माण भएको उक्त झोलुङ्गे पुल पैदलयात्रीका लागि मात्र डिजाइन गरिएको पूर्वाधार विकास विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले जनाएको छ। विभागले लामो समयदेखि मोटरसाइकल सञ्चालन बन्द गर्न ताकेता गर्दै आएको थियो। पुल जीर्ण भइसकेकाले सवारीसाधन सञ्चालन हुँदा कुनै पनि बेला दुर्घटना हुन सक्ने जोखिम रहेको प्राविधिकहरूको निष्कर्ष छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)