नक्कली भुटानी शरणार्थी प्रकरण : केपी ओलीसहितलाई बयानमा बोलाउनु पर्ने माग गर्दै निवेदन दर्ता
ratopati.com · Thu Jun 11 11:57:52 GMT 2026

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहितलाई अदालतमा बयानका लागि बोलाउनु पर्ने माग गर्दै बिहीबार निवेदन दर्ता भएको छ।
अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत) का अनुसार पूर्वप्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रामबहादुर थापा बादल, अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई, कांग्रेस नेतृ आरजु देउवा, मञ्जु खाण र राजेश बज्राचार्यलाई बयानमा बोलाउन माग गर्दै निवेदन दर्ता भएको हो ।
भुटानी शरणार्थी प्रकरणमा यी व्यक्तिहरूले रकम बुझेको भनी दिएको अडियो बयान, भिडियो प्रमाणसहित मिसिलमा संलग्न गरी पेस गरिएको अधिवक्ता नेपालले जानकारी दिए। उक्त निवेदनमा केन्द्रित भएर भोलि अदालतमा बहस हुने नेपालले बताए ।
बुधबारदेखि जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासमा भुटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दाको अन्तिम चरणमा सुनुवाइ सुरु भइरहेको छ । नक्कली कागजात तयार पारी सङ्गठित गिरोहको योजनामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएको दाबी अभियोगपत्रमा छ ।
सङ्गठित अपराधसहित पाँच अभियोगमा मुद्दा दायर भएको झण्डै तीन वर्षपछि जिल्ला अदालतमा पेसी चढेर सुनुवाइ भएको हो।
२०८० जेठ १० मा पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जना विरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
भुटानी शरणार्थी प्रकरण
बेचन झा
बालकृष्ण खाँण
न्यायाधीश नीतिज राई