मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नकली भुटानी शरणार्थी प्रकरणको मुद्दामा इजलासमा ‘होहल्ला’

baahrakhari.com · Thu Jun 11 12:15:00 GMT 2026

काठमाडौं । नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको विवादमा सुनुवाइ चलिरहेका बेला इजलासमा ‘होहल्ला’ चलेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेज खड्काको इजलासमा जाहेरवालाका वकिलले नयाँ माग थपेपछि होहल्ला भएको हो ।

जाहेरवालाको तर्फबाट बहस गर्न पुगेका अधिवक्ता स्वागत नेपालसहितका कानुनव्यवसायीले उक्त प्रकरणमा विभिन्न दलका उच्च तहका नेता र अख्तियार प्रमुख प्रेमकुमार राईसहितलाई अदालतमा उपस्थित गराउन माग गरेपछि एकछिन होहल्ला चलेको थियो ।

चिया समयअगाडि पक्ष-विपक्षका कानुनव्यवसायीबीच इजलासमै दुईतर्फी सवाल-जवाफ भएपछि सुनुवाइ प्रभावित भएको थियो । अधिवक्ता नेपालले भुटानी शरणार्थी प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली, उनका स्वकीय सचिव राजेश बज्राचार्य, एमाले वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा बादल, कांग्रेस नेतृ आरजु राणा, मन्जु खाँण, अख्तियारका प्रमुख प्रेमकुमार राईलगायतलाई झिकाएर इजलासमा बयान गराउन माग गरेका थिए ।

अधिवक्ता नेपालले भुटानी प्रकरणमा उनीहरूको बयान नलिइकन फैसला गर्दा पीडितमाथि अन्याय हुने प्रश्न इजलासमा उठाएका थिए ।

"मैले उनीहरूको बयान नलिई मुद्दा अघि नबढाउन भनेर इजलासमा कुरा राखेँ । प्रतिवादीका विद्वान मित्रहरूले प्रतिवाद गर्दा एकछिन चर्काचर्की पर्‍यो । त्यसपछि चिया समय पनि सुरु भयो र सुनुवाइ निरन्तर गर्नेगरी बाहिरियौँ," अधिवक्ता नेपालले भने ।

नेपालसहितका कानुनव्यवसायी आक्रोशित भएपछि प्रतिवादी तर्फका वकिलहरू पनि आवेगमा आएका थिए । त्यसपछि अदालत प्रशासनले इजलासको सुरक्षा व्यवस्थामा कडाइ गरेको थियो । उक्त मुद्दामा निरन्तर सुनुवाइमार्फत टुंगोमा पुग्ने तयारीमा अदालत छ ।

अदालतका सूचना अधिकारी शिव खतिवडाले सहजीकरणका लागि आवश्यक संख्यामा सुरक्षा सकर्तका अपनाइएको बताए । "आवश्यक संख्यामा सुरक्षा सकर्तका अपनायौँ । इजलास शान्त छ," खतिवडाले बाह्रखरीसँग भने ।

#काठमाडौं जिल्ला अदालत

#नक्कली भुटानी शरणार्थी प्रकरण

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय