धनुषामा नेपाली सेनाले बनाइदियो चिटिक्कको प्रतीक्षालय
nepalpress.com · Thu Jun 11 12:21:31 GMT 2026

जनकपुरधाम । नेपाली सेनाको विष्णु दल गणले धनुषाको पूर्वी कमला नगरपालिका ३ लगमामा प्रतीक्षालय तथा खानेपानीको व्यवस्थापन गरिदिएको छ।
नेपाली सेनाको धनुषाको महेन्द्रनगरस्थित विष्णु दल गणले सेनाको शीघ्र प्रभावी आयोजना अन्तर्गत लग्मा बजारमा रहेको रिद्धिसिद्धि देवी माता मन्दिरमा आउने दर्शनार्थी तथा स्थानीय हाट बजारमा आउने स्थानीयका लागि करिब १० लाख भन्दा बढीको लगानीमा व्यवस्थापन गरिएको आयोजनाको एक समारोहकाबीच बिहिबार कमला नगरपालिका र स्थानीय बजार व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ।
नेपाली सेनाको मध्य पूर्वी पृतना बर्दिबासको प्रितनापति भुवन खत्रीले सो आयोजना नगरपालिकालाई हस्तान्तरण गरे ।
पृतनापति खत्रीले नेपाल र नेपाली जनताको हितमा सदैव तत्पर नेपाली सेना जनतामुखी कार्यक्रमहरू सहित सेवारत रहेको बताए ।
आयोजना ग्रहण गर्दै कमला नगरपालिकाका मेयर विश्वेश्वर यादवले सरकारहरूले गर्नुपर्ने काम नेपाली सेनाले यस्तो ग्रामीण भेगमा गरिदिएकोमा खुसी व्यक्त गरे ।
खानेपानी आयोजना र सुविधाजनक विश्राम स्थलको समुद्घाटनपछि स्थानीयवासी हर्षित भएका छन्। प्रतीक्षालय स्थलमा वृक्षारोपणसमेत गरिएको विष्णु दल गणका गणपति खिलेन्द्र राज अमगाईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)