मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

ननस्टप पखाला, बान्ता अनि अस्पतालको बेडमा पुगेछु...!

ratopati.com

काठमाडौँमा हैजा पुष्टि भएको पहिलो बिरामीलाई भेट्दा खाना खाइराख्नु भएको थियो । स्वास्थ्यमा धेरै सुधार भैसकेको थियो । मुहारमा केहि उज्यालोपन पनि देखिन्थ्यो । लेखक सङ्क्रामक रोगको बारेमा सधैँ जिज्ञासु रहने भएकोले आफ्नो परिचय पछि स्वाभाविक प्रश्न गरेका थिए । कसरी यस्तो अवस्था (बिरामी) भयो ? लेखकको अनुरोधलाई सहर्ष स्विकार्दै आफूहरूले साधेको चाउचाउ बनाएको र खाएको लगभग ६-८ घण्टा पछि अचानक रिँगटा लाग्ने, टाउको भारी हुने भएको थियो । र त्यसपछि अचानक पातलो दिसा ननस्टप लागेको, लगत्तै बान्ता भएको र आफू अस्पतालको बेडमा पुगेपछि मात्र राम्रोसँग होस फर्केको थियो । त्यसपछि २-३ घण्टाको फरकमा सोही खाना खाएका अर्का बहिनीलाई पनि त्यस्तै कडा झाडापखालाका लक्षणहरू देखियो र अस्पताल भर्ना हुनुपरेको थियो । हैजाको सम्भावना व्यक्त गरिए पछि थप पुष्टिको लागि परीक्षण गरिएको र अन्तमा हैजाको जीवाणु नै पुष्टि भएको थियो । तत् पश्चात् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असारको २ गते विज्ञप्ति प्रकाशित गर्दै काठमाडौँमा दुई बिरामीमा हैजाको जीवाणु पुष्टि भएको आधिकारिक जानकारी दिएको थियो ।

हाल झाडापखालाका बिरामीमा हैजा पुष्टि हुने क्रम जारी छ । तर विडम्बना यी बिरामीहरू काठमाडौँका फरक फरक ठाउँका निवासीहरू हुन । अर्थात् हैजाको जीवाणु काठमाडौँ उपत्यकामा फैलिसकेको र अहिले पनि फैलिरहेको अनुमान गर्न सकिन्छ किनभने अहिलेसम्म बजार अनुगमन कडा गरेको जानकारी सार्वजनिक भैनसकेकोले सङ्क्रमण युक्त पानी वा खानेकुराहरूको बिक्री वितरण निरन्तर भइरहेको हुनुपर्दछ । हैजा आफैमा नेपालको लागि नौलो रोग भने होइन । तथ्याङ्क हेर्ने हो भने हरेक वर्ष जसो हैजा देखिने गरेको पाइन्छ । गत वर्ष असोज महिनामा कपिलवस्तुको कृष्णनगर नगरपालिकाका गाउँहरूमा हैजा फैलिँदा सयौँ सङ्क्रमित भएका थिए भने समयमा उपचार नपाउँदा केहीको मृत्यु समेत भएको थियो । हैजाको सङ्क्रमण बढी युवाहरूमा देखिने गरेको भएता पनि जोखिम वा मृत्यु तुलनात्मक रूपमा बढी बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई हुने गरेको पाइन्छ । गत वर्ष असोज महिनामा कपिलवस्तुमा फैलिएको हैजाबाट मृत्यु हुनेमा ७५ प्रतिशत १० वर्ष मुनिका बालबालिका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)