जनकपुरले बोल्ट्सले मार्की खेलाडी आसिफ शेखलाई गर्यो रिलिज
nepalpress.com · Thu Jun 11 13:11:59 GMT 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज जनकपुर बोल्ट्सबाट मार्की खेलाडी आसिफ शेख रिलिज भएका छन् । बोल्ट्सले अर्को सिजनका लागि सार्वजनिक गरेको ‘रिटेन्सन लिस्ट’ मा शेख समावेश छैनन् ।
एनपीएलको प्रावधान अनुसार प्रत्येक सिजनअघि फ्रेन्चाइजी टिमले अधिकतम सात जना खेलाडी रिटेन गर्न सक्छन् । बाँकी खेलाडीहरू स्वतः रिलिज भएर अक्सन पुलमा जान्छन् । उदाहरणका लागि १६ मध्ये अधिकतम ७ खेलाडी रिटेन भएमा ९ जना रिलिज भएको मानिन्छ ।
बोल्ट्सले आज सार्वजनिक गरेको रिटेन खेलाडीहरूको पोस्टरमा आसिफ छैनन् । ५ जना खेलाडीलाई मात्रै जनकपुर बोल्ट्सले रिटेन गरेको छ । रिटेन हुनेमा अनिल साह, ललित राजवंशी, मयन यादव, विकास अग्री र आदित्य महता रहेका छन् । बोल्ट्सले आसिफसहित किशोर महतो, रुपेश सिंह, पप्पु यादव, सचिन भट्ट, शुभ कंशाकार र तुलबहादुर थापालाई रिलिज गरेको छ ।
मार्की खेलाडीलाई रिलिज गर्ने जनकपुर बोल्ट्स एनपीएलको पहिलो फ्रेन्चाइज बनेको छ । मार्की खेलाडीले कम्तीमा ३ वर्ष फ्रेन्चाइज टिम छोड्न नपाउने नियम भए पनि टिमले चाहेको खण्डमा क्यानसँग समन्वय गरेर कुनै पनि सिजनमा मार्की खेलाडी रिलिज गर्न सक्छन् ।
जनकपुर बोल्ट्स एनपीएलको पहिलो सिजनमा विजेता बनेको थियो भने दोस्रोमा अंकतालिकाको पुछारमा धकेलिएको थियो । आसिफले दुवै सिजनमा टिमबाट अपेक्षित प्रदर्शन गर्न सकेका थिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
नेपाल प्रिमियर लिग (एनपिएल)
काठमाडौँ
जय ट्रफी