भुटानी शरणार्थी प्रकरण: ओली-आरजुसहितलाई झिकाउन माग गरिएको निवेदन दर्ता, भोलि बहस
clickmandu.com · Thu Jun 11 13:27:36 GMT 2026

नक्कली भुटानी शरणार्थी प्रकरणमा केही उच्चपदस्थ राजनीतिक व्यक्तित्वलाई झिकाएर बयान लिन माग गरिएको निवेदन जिल्ला अदालत काठमाडौंमा दर्ता भएको छ । कार्यालय समय सकिने बेला न्यायाधीशले निवेदन दर्ता गर्ने निर्णय गरेका हुन् ।
बहसका क्रममा जाहेरवालातर्फका वकिलहरूले एमाले अध्यक्ष केपी शर्मा ओली, उनका स्वकीय सचिव राजेश बज्राचार्य, अख्तियार प्रमुख प्रेम राई, एमाले वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उनकी पत्नी नैनकला थापा, पूर्वमेयर विद्यासुन्दर शाक्य, अजयक्रान्ति शाक्य तथा कांग्रेस नेतृहरू आरजु राणा र मञ्जु खाणलाई पक्राउ गरी बयान लिन माग गरेका थिए । प्रतिवादी पक्षले उक्त मागमा आपत्ति जनाएपछि इजलासमा केहीबेर तनावसमेत भएको थियो ।
त्यसपछि जाहेरीकर्ताको तर्फबाट रामकुमार रेग्मीले लिखित निवेदन दर्ता गराएका हुन् । निवेदनमा उल्लेखित व्यक्तिहरूले रकम बुझेको पर्याप्त प्रमाण अदालतमा पेश भइसकेको दाबी गर्दै उनीहरूलाई झिकाएर बकपत्र गराउन माग गरिएको छ ।
यस्तै, प्रतिवादीहरूको सम्पत्ति रोक्का गर्न पनि माग गरिएको छ । उक्त निवेदनमाथि भोलि बहस हुने जाहेरीकर्ताका कानुन व्यवसायी स्वागत नेपालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
भुटानी शरणार्थी प्रकरण
काठमाडौँ
बेचन झा