बालुवाटार ब्रिफिङः सबै एमाले सँगै रहने सम्भावना रहेन
onlinekhabar.com · Tue May 25 00:30:46 GMT 2021
११ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूह इतरका एघार नेतालाई साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरेका छन् । सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकबाट वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, पुराना नेता मुकुन्द न्यौपाने सहित एघार जनालाई निष्काशन गरिएका हुन् । निष्काशन गरिएका खनाल, नेपाल र न्यौपाने एमाले धार निर्माणकै संस्थापक नेता हुन् । ओली भन्दा अघि खनाल र नेपालले एमालेको नेतृत्व गरेका थिए ।
तर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेगरी हस्ताक्षर गरेको भन्दै ओलीले निष्काशनको निर्णय गरेका छन् । थप १२ जनालाई स्पष्टीकरण सोधिएको छ । ७ जेठमा संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका गोकर्ण बिष्ट, गणेश पहाडी र पवित्रा निरौला भने कारबाहीबाट बचे । देउवालाई प्रधानमन्त्री बनाउने निर्णयबाट पछि हटेकाले उनीहरूलाई कारबाही गरिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)