विश्वकप खेलको सामूहिक प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालयको अनुमति अनिवार्य
nepalpress.com · Thu Jun 11 14:38:08 GMT 2026

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने संघसंस्था तथा कम्पनीलाई पूर्वस्वीकृति लिन अनिवार्य गरेको छ ।
कार्यालयले बुधबार एक सूचना जारी गर्दै असार २९ गतेदेखि सुरु हुने विश्वकपका खेलहरू ठूलो पर्दामा सामूहिक रूपमा प्रदर्शन गर्नुअघि प्रशासनको अनुमति लिनुपर्ने जनाएको हो ।
अनुमति नलिई रातिको समयमा खेल देखाउने बहानामा भीड जम्मा गरी समुदायमा असर पर्ने तथा शान्ति–सुरक्षा खलबल्याउने गतिविधि नगर्न पनि प्रशासनले आग्रह गरेको छ।
सूचनाअनुसार खेलको प्रत्यक्ष प्रसारणका लागि आवश्यक निवेदनको ढाँचा जिल्ला प्रशासन कार्यालय काठमाडौँको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ। प्राप्त निवेदनमा उल्लेख गरिएका सर्तहरूको अधीनमा रही सम्बन्धित संस्था वा कम्पनीको स्थान र सुरक्षा संवेदनशीलताको मूल्यांकनपछि अनुमति प्रदान गरिने जनाइएको छ।
प्रशासनले स्वीकृतिबिना विश्वकपको प्रत्यक्ष प्रसारणका नाममा भिडभाड गर्ने, अमर्यादित, उच्छृङ्खल, अवाञ्छित तथा गैरकानुनी गतिविधि सञ्चालन गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता राम रिजालद्वारा जारी सूचनामा विश्वकप प्रतियोगिताका क्रममा सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै आवश्यक व्यवस्था गरिएको उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)