मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

नबल्ने ट्राफिक बत्ती

ekantipur.com · Sun Mar 17 01:12:46 GMT 2024

काठमाडौंका धेरै चोकमा ट्राफिक बत्ती जडान गरिएको देखिन्छ तर ती बलिरहेका हुँदैनन् । ती ट्राफिक बत्ती निरन्तर चलाउनुहुन ट्राफिक कार्यालयलाई विनम्र अनुरोध छ ।

यसले बटुवालाई रातो–हरियो बत्ती हेरेर बाटो काट्ने बानी बसाल्छ । ट्राफिक बत्ती चलाए टाढाबाटै देखिन्छ । सोहीअनुसार चालकले आफ्नो सवारीको गति मिलाउन पाइन्छ । बत्तीले समय पनि देखाउने भएकाले गाडी–बाइकको स्विच निभाएर राख्न पनि पाइयो र अन्तिम ४–५ सेकेन्ड बाँकी हुँदा गाडी–बाइक स्टार्ट गरे पुग्यो । ट्राफिक प्रहरी मात्र खटाउँदा उसले कुन बेला रोक्छ, कुन बेला जान पाइने थाहै हुँदैन । सबैले इन्जिन चलाएरै राख्छन्, जसले गर्दा इन्धन धेरै खपत हुन्छ र त्यसले प्रदूषण पनि बढाउँछ । सबै ट्राफिक प्रहरी एकैनासका हुँदैनन्, कसैले लामो समय रोकिदिन्छन्, कसैले छोटो समय । धेरैबेर एकातिर रोकिदिनाले अर्कोतर्फ ठूलै जाम भइसकेको सडकको बीचमा उभिएर हात हल्लाउने ट्राफिक प्रहरीलाई थाहै हुँदैन । एकैसुरमा एकातर्फ रोकेको रोक्यै गर्दा ट्राफिक व्यवस्था अस्तव्यस्त हुन पुग्छ । ट्राफिक बत्ती नियमित चलाए ट्राफिक प्रहरी बीच सडकमा हात हल्लाएर बस्नै पर्दैन । सिठी बजाउँदा हुने ध्वनि प्रदूषणमा कमी आउँछ । हालै कोटेश्वरको सडकमा बसले ठक्कर दिँदा ट्राफिक प्रहरीको मृत्यु भयो । ट्राफिक प्रहरीलाई ट्राफिक बत्ती नभएको सडकतिर परिचालन गरे हुन्छ । सहरको भित्री सडकमा ट्राफिक बत्ती पनि हुँदैन, ट्राफिक प्रहरी पनि खासै हुँदैनन् । त्यस्ता ठाउँमा ट्राफिक जाम पनि भइरहेको हुन्छ । ट्राफिक बत्ती भएको ठाउँमा नभई भित्री सहरमा ट्राफिक प्रहरी परिचालन गर्नुपर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)