मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्वाचन सार्ने नियत

annapurnapost.com · Tue Apr 12 00:49:00 GMT 2022

निर्वाचन लोकतन्त्रको महायज्ञ हो। महायज्ञ सधैं गरिन्न। हत्तपत्त आयोजना हुन सक्दैन। त्यसको निश्चित समयावधि हुन्छ। लोकतन्त्रलाई बलियो बनाउने निर्वाचन पहिलो र निसर्त उपाय हो। निर्वाचन नै त्यस्तो मौका हो, जसले जनतालाई वास्तविक अर्थमा सबैभन्दा शक्तिशाली बनाउँछ। आफ्नो शासन गर्ने आफ्नो प्रतिनिधि निर्वाचनमार्फत जनताले चुनेर पठाउँछ। तर, निर्वाचन नै भएन वा ठीक समयको ठेगान भएन भने जनता निर्बलियो बन्छ। आवधिक निर्वाचन धकेल्ने वा नगर्ने या त्यसको विकल्प खोज्ने कल्पना लोकतन्त्रको भावनाविपरीत हो। आउँदो स्थानीय तह निर्वाचन पर धकेल्ने संशय पैदा हुँदा यी प्रसंग सान्दर्भिक भएका छन्। प्रदेश वा संघीय सरकारभन्दा जनताको सबैभन्दा नजिकको सरकार हो स्थानीय सरकार। जनताले छुँदा छोइने र हेर्दा देखिने यो सरकारसँग पर्छन् जनताको दैनन्दिन कामकाज। तसर्थ लोकतन्त्रलाई बलियो बनाउने सबैभन्दा आधारभूत र अपरिहार्य निर्वाचन स्थानीय निर्वाचन हो। जसले लोकतन्त्रलाई वास्तविक अर्थमा व्यवहारत जनताकहाँ पुर्‍याउँछ।

कांग्रेस नेतृत्वको गठबन्धन सरकारका साझेदार दलहरू स्थानीय निर्वाचनमा पनि गठबन्धनमै जाँदैछन्। जबकि संसारका उच्चतम् लोकतन्त्रमा स्थानीय निर्वाचन दलीय हुँदैन। सबै उम्मेदवार स्वतन्त्र हुन्छन्। तिनलाई दलहरूले समर्थन भने गर्न सक्छन्। तर नेपालमा भने दलतन्त्रलाई झन् धेरै विकृत बनाउने गरी स्थानीय तह निर्वाचनलाई समेत महागठबन्धनको महासंग्राम बनाइँदैछ। त्यो गठबन्धनको स्वार्थ भनेको निर्वाचनमा अमूक दलविरुद्ध निषेधकै राजनीतिको तहमा देखा परेको छ। निषेधको राजनीति लोकतन्त्रको मान्यताविपरीत हो। लोकतन्त्रले त स्वच्छ र स्वस्थ प्रतिस्पर्धालाई अंगीकार गर्छ, कसैको उपस्थिति शून्य बनाउने भन्ने संकीर्ण र एकाधिकारवादको कल्पना गर्दैन। तर, गठबन्धनभित्रै भागबन्डाको किचलो यति गहिरो छ कि उम्मेदवार टुंग्याउनु फलामको चिउरा चबाउनुसरह भएको छ। आफूहरूले त्यही स्वार्थपूर्ति गर्ने ध्याउन्नकै कारण स्थानीय तह निर्वाचन सार्ने प्रपञ्च हुन्छ भने जनताले नै त्यसको प्रतिरोध गर्नुपर्छ। कसलाई शून्य बनाइदिने र कसलाई सत्ता सुम्पन्ने भन्ने अधिकार जनतामा छ। त्यो अधिकार प्रयोग गर्नबाटै बञ्चित बनाउने हक कसैलाई छैन। त्यस्तो गर्नेहरू खासमा लोकतन्त्र र जनता विरोधी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)