‘परान’को कन्टेन्टले दर्शकको मन जितेपछि शो संख्या बढ्यो
sutranews.com · Tue Nov 04 13:43:31 GMT 2025

काठमाडौं । दर्शकको वर्ड अफ माउथले नेपाली फिल्म ‘परान’ ले पुनः उचाइ लिएको छ। सोमबार देशभरका हलहरूमा ९४ भन्दा बढी शो पाएको यो फिल्मले आफ्नो सुरुवाती प्रदर्शनभन्दा धेरै शो थप गर्न सफल भएको छ।
निर्माता रञ्जित आचार्यका अनुसार फिल्मले पहिलो दिन, अर्थात् कात्तिक १४ गते शुक्रबार, ६४ शो बाट प्रदर्शन सुरु गरेको थियो। तर त्यसपछिका दुई दिन शनिबार र आइतबार हलहरूले यसको शो घटाएका थिए। अहिले फेरि दर्शकको राम्रो प्रतिक्रिया पाउँदा फिल्मले फुल शो रिटर्न गरेको हो।
सुरुवाती दिनमा राम्रो प्रतिक्रिया पाएको भए पनि फिल्मको व्यापार कमजोर रहेको थियो। यसको मुख्य कारण देशभर परेको झरीलाई मानिएको छ। तर आइतबारपछि मौसम खुलेसँगै सोमबारदेखि हलमा दर्शकको भीड बढेको छ, जसका कारण हलहरूले शो संख्या बढाए।
सोमबारका लागि फिल्मको प्रि–बुकिङ पनि उत्साहजनक । विराटनगरस्थित सिटी सिनेमाको साँझ ६ बजे र इटहरीको इलाइट सिनेमाको साँझ साढे ७ बजेको शो हाउसफुल बुकिङ भएको छ। पश्चिमतिर नेपालगञ्जको सिनेरोयल हलमा बिहान ११ः४५ र साँझ ६ बजेका शो पनि हाउसफुल छन्।
पहिलो दिनको तुलनामा पाँचौँ दिनमा शो संख्या बढ्नुको अर्थ फिल्मको कन्टेन्टले दर्शकको मन जितेको हो।
फिल्ममा वरिष्ठ कलाकार नीर शाह मुख्य भूमिकामा छन् भने नायक प्रवीण खतिवडा र महेश त्रिपाठी, नायिका केकी अधिकारी र अञ्जना बराइली प्रमुख भूमिकामा देखिएका छन्। फिल्मका निर्माता शेखर खोल्छा र रञ्जिता आचार्य हुन्।
प्रतिक्रिया दिनुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)