मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

इन्धनको मूल्य वृद्धिले उपभोक्ता दोहोरो मारमा

karobardaily.com · Mon Jun 07 00:44:02 GMT 2021

सरकारले तत्काल मूल्य स्थिरीकरण कोषको उपयोग गरी मूल्यलाई एउटा सीमामा राख्न आवश्यक छ ।

पेट्रोलियम पदार्थको मूल्य बितेको एक वर्षमा १२ पटक बढेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढ्दै गएका कारण आन्तरिक बजारमा पनि मूल्य बढेको नेपाल आयल निगमको दाबी छ । एक वर्षअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ४५ डलर प्रतिब्यारेल थियो । अहिले करिब ७० डलर पुगेको छ, जसका कारण आन्तरिक बजारमा मूल्य बढेको निगमको भनाइ गलत नभए तापनि पेट्रोलियम पदार्थमा सरकारले लगाएका करका दरहरू हेर्दा पेट्रोलियम पदार्थको परल मूल्यभन्दा बढी कर सरकारले उठाउने गरेको देखिन्छ । निगम पनि इन्धनमा विभिन्न शीर्षकमा लगाएको करका कारण नेपालमा इन्धनको मूल्य अकासिँदै गएकोमा सहमत छ । सरकारले गत जेठबाट प्रतिलिटर १० रुपैयाँका दरले थप पूर्वाधार कर लिने गरेको छ भने यसबाहेक ५ रुपैयाँ गत वर्षको बजेटले नै भन्सार महसुल पनि थपिदिएको छ । यसरी प्रतिलिटरमा १५ रुपैयाँ कर अर्थमन्त्री डा. युवराज खतिवडाको पालामा थपिएको हो । यो करको रकमको सदुपयोग भयो वा भएन एउटा कुरा हो, तर सरकार आफैंले अत्यावश्यक मानेको पेट्रोलियम पदार्थमा किन धमाधम कर बढाउँदै गइरहेको छ, यसको कुनै तर्क सरकार वा निगमसँग छैन । करमात्र होइन, उपभोक्ताबाट निगमले अनावश्यक शीर्षकमा इन्धनमा शुल्क पनि लिन्छ । यी शुल्कहरूको सरकारले सदुपयोग गरेको कुनै उदाहरण भने छैन । किनकि सरकारले इन्धनमा पूर्वाधार कर, वातावरण प्रदूषण शुल्क, सडक मर्मत दस्तुर, निगमको प्रशासनिक शुल्कजस्ता विभिन्न शीर्षकअन्तर्गत रकम संकलन गर्छ । यसरी विभिन्न शीर्षकमा लगाइएको कर तथा शुल्कका कारण उपभोक्ताले महँगोमा इन्धन किनिरहेका छन् । तर, सरकारले पूर्वाधार कर उठाएर पूर्वाधारमा लगानी गरेका भए नेपालका पूर्वाधारको बिजोग हुने थिएन । त्यस्तै, वातावरण प्रदूषण शुल्क कति वातावरण सुधारमा खर्च गरेको छ अनि सडक मर्मत दस्तुरले कति सडक मर्मत भएर सवारी साधन चलाउन कति सहज भएको छ । यी सबै नागरिकले भोगेकै कुरा हुन् । त्यसमाथि निगमको प्रशासनिक शुल्क पनि उपभोक्ताले तिरिरहेका छन् । वर्षभरि निगम घाटामा छ भनेर वर्षको अन्त्यमा नाफा देखाएर बोनस खाएको पनि ६ वर्ष भइसकेको छ । यसरी ६ वर्षदेखि निरन्तर नाफामा रहेको निगम चालू आर्थिक वर्षमा नोक्सानीमा गइसकेको दाबी गर्दै निगमले मूल्य बढाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)