आर्मी र पुलिसको सहज जित
annapurnapost.com · Sun Mar 15 03:05:10 GMT 2026

नवलपुर : नवलपुरको कावासोतीमा जारी ‘दोस्रो जीएम कप राष्ट्रिय भलिबल प्रतियोगिता’अन्तर्गत शनिबार सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लबसँगै गण्डकी प्रदेशले पनि जित हात पारेका छन्। प्रतियोगितामा हार बेहोरेसँगै बागमती प्रदेश र मधेस प्रदेश भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएका छन्।
शनिबार भएको पहिलो खेलमा साविक विजेता नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई २५–१२, २५–१८, २५–१९ को सोझो सेटमा पराजित गर्यो । खेलमा पुलिसका पहल गहतराज ‘प्लेयर अफ द म्याच’ घोषित भए। दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई २५–१४, २५–१३, २५–१२ को सोझो सेटमा हरायो।
आर्मीका देव राना खेलको ‘प्लेयर अफ द म्याच’ चुनिए। यस्तै तेस्रो खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ३–१ को सेटमा हरायो। गण्डकीले पहिलो दुई सेट २५–२१, २५–१५ ले आफ्नो पक्षमा पारेको थियो भने तेस्रो सेट २३–२५ ले गुमाउन पुग्यो। चौथो सेटमा पुनरागमन गर्दै गण्डकीले २५–२० को जितसहित खेल आफ्नो पोल्टामा पार्यो । गण्डकीका सन्जु विक्रम शाह ‘प्लेयर अफ द म्याच’ बने।
प्रतियोगिताका सल्लाहकार सहज रानामगरका अनुसार आइतबारदेखि क्वार्टरफाइनलका खेल सुरु हुनेछन्। आइतबारको पहिलो खेलमा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश भिड्ने छन् भने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। यस्तै, तेस्रो खेलमा गण्डकी प्रदेश र कोशी प्रदेश तथा चौथो खेलमा एपीएफ क्लब र कर्णाली प्रदेशबीच सेमिफाइनल प्रवेशका लागि भिडन्त हुने आयोजकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)