मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

ओम हस्पिटलको क्यान्टिन फोहोर दुर्गन्धित

barnanmedia.com · Tue Nov 04 23:25:43 GMT 2025

काठमाडौंको चाबहिलस्थित ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द गरिएको छ । काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले उक्त अस्पतालको क्यान्टिन सरसफाइमा चरम लापरबाही देखिएपछि बन्द गरिएको अनुगमन टोलीले जनाएको छ । हेल्दी बाइट्स सर्भिसेज प्रालिद्वारा सञ्चालन भइरहेको उक्त क्यान्टिनमा खाद्य रंगको अव्यवस्थित प्रयोग, म्याद गुज्रिएका उपभोग्य वस्तु, अस्वच्छ वातावरण, पेष्ट कन्ट्रोल (किटनाशक नियन्त्रण) व्यवस्था असन्तोषजनक रहेको, लेबल विवरण नदेखिएका खाद्यवस्तु प्रयोग गरिएकोलगायत अनियमितता भेटिएका थिए ।

अनुगमन टोलीका अनुुसार क्यान्टिन सञ्चालकले व्यवसाय दर्तासमेत नगरेको देखिएकाले सात दिन बन्द गरी स्पष्टीकरणसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ । अनुगमनका क्रममा म्याद गुज्रिएका पाँच थान अर्थात् पाँच सय मिलिलिटर दूध नष्ट गरिएको थियो । ओम अस्पताल तथा रिसर्च सेन्टर प्रालि प्रशासनका प्रशासनिक प्रबन्धक विपिन जंगमले संरचना मर्मत, रंगरोगन र आवश्यक सरसफाइ पूरा गरी खाद्य स्वच्छता सुनिश्चित भएपछिमात्र पुनः सञ्चालनमा ल्याउने बताउनुभएको थियो । सोही स्थानमा रहेको मेडिकेयर अस्पतालको द केयर क्यान्टिन र हेल्पिङ ह्याण्ड्स अस्पतालको क्यान्टिनमा सरसफाइ अवस्था अपेक्षाकृत राम्रो देखिएको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)