कोरोना संक्रमणलाई भयाबह हुन नदिउ
rajdhanidaily.com · Tue Apr 11 23:33:17 GMT 2023
कोरोना भाइरसको संक्रमणबाट तीन महिनापछि एकजनाको मृत्यु भएको छ भने मंगलबार मात्रै १०६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्ला केही दिन यता कोरोना संक्रमित बढ्दै गएपनि मृत्यु भएको तीन महिनापछिको पहिलो घटनाको रुपममा लिन सकिन्छ । मंगलबारको मृत्युको घटनाले यो पनि पुष्टि गरेको छ अब पनि गम्भिर नहुने हो भने कोरोना संक्रमण फेरी पनि भयाबह हुन सक्छ । मंगलबार ४७६ जनामा पीसीआर परिक्षण र १ हजार ९६० मा गरिएको एन्टिजोन परिक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो भनेको लगभग २२ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणकै कारण १२ हजार २१ सर्वसाधरणको मृत्यु भएको घटनालाई फेरि एक पटक स्मरण गर्दै कोरोना संक्रमणले महामारीको रुप नलोओस् भन्नका लागि केही पूर्व तयारी गनैपर्ने बेला भएको छ । पूर्वतयारीका लागि केही काम सरकारी स्तरबाट हुनुपर्छ भने कतिपय सर्वसाधरणले पनि गर्न सक्छन् । आफ्नै तर्फबाट गर्न सकिने काम पनि नगर्ने र अन्तिममा सरकारको आलोचना गर्ने हाम्रो पुरानै परम्परा हो । अब हामीले हाम्रो आनीबानीमा पनि परिवर्तन गर्न जरुरी छ । सबैलाई जानकारी भएकै कुरा हो । मास्कको नियमित प्रयोग र सामाजिक दुरी कायम गर्ने हो भने पनि संक्रमणबाट जोगिन सकिन्छ र यति कुरा सरकारले फेरि सम्झाइरहन जरुरी छैन । तर, पनि हामीले अहिलेसम्म सम्भव हुने ठाउँमा पनि सामाजिक दुरी कायम गर्ने तर्फ ध्यान दिएका छैनौं । सार्वजनिक यातायात, सिनेमा हल पार्टी प्यालेसलगायत भिडभाड हुने ठाउँमा मास्कविनाका अनुहारहरु हामीले प्रसस्तै देखेका छौं । सरकारले बुष्टर डोज खोप उपलब्ध गराए पनि बुष्टर डोज नलगाउनेहरु अझै बाँकी छन् । जसले दोस्रो चरणको खोप लगाएर बुष्टर लगाएका छैनन् तिनले नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउने हो भने महामारीबाट जोगिने एउटा उपाय हुन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)