साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
nepallive.com · Wed May 14 07:02:00 GMT 2025

काठमाडौँ–प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकको आकस्मिक समयमा उनले साउदी अरबको जुवेल सहरमा सेन्ड्रन इन्टरनेसनल कम्पनी लिमिटेड बन्द भएपछि सो कम्पनीमा कार्यरत चार सय ६९ जना नेपाली अलपत्र परेकाले तत्काल उद्धार र सहयोग गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
‘रोजगारदाता कम्पनी बन्द हुँदा कामविहीन भएका चार सय ६९ मध्ये दुई सय २६ जनाले नेपाल फर्कन चाहेका छन्। त्यहाँको दूतावासमा सम्पर्क गरेर उनीहरू नेपाल फर्कन चोहका बताएका छन्’ सांसद बर्तौलाले भने, ‘रोजगारविहीन भएकामध्ये दुई सय ४३ जनाले नेपाल अन्य कम्पनीमा काम गर्ने वातावरण मिलाउन आग्रह गरेका छन्।’
कम्पनी बन्द भएपछि दुई महिनादेखि नौ महिनाको तलब पनि नेपाली कामदारले नपाएका बताउँदै उनले तलबका लागि कम्पनीको व्यवस्थापनलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै वास्ता नगरिएको उनले सदनलाई जानकारी गराए।
‘कामविहिन भएपनि ती नेपाली अहिले शिविरमा बसिरहेका छन्, त्यहाँ खानाको समस्या छ, बिरामी परेका छन्, स्वास्थ्य उपचार पाएका छैनन्,’ सांसद बर्तौलाले भने, ‘नेपाल फर्कन चाहनेले भिसा बन्द भएकाले स्वदेश आउन पाएका छैनन्, यथाशीघ्र ती नेपालीको उद्धार गरी आवश्यक सहयोग र सहजीकरणमा जुटन म सरकारसँग आग्रह गर्छु।’
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२
१२:४७
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)