मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पद्वारा इरानमाथि गर्ने भनिएको सैन्य आक्रमण रद्द

barnanmedia.com · Thu Jun 11 22:24:42 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि बिहीबार राति गर्ने भनिएको पूर्व निर्धारित हवाई आक्रमण र बमबारी रद्द गरेका छन् ।

आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत एक सन्देश जारी गर्दै राष्ट्रपति ट्रम्पले इरानको उच्च नेतृत्वसँगको छलफल सकारात्मक भएको र सहमति जुटेकाले आक्रमणको योजना फिर्ता लिइएको जानकारी दिएका हुन् ।

ट्रम्पले इरानसँगको वार्ता उच्च तहमा पुगेर अनुमोदन भइसकेको उल्लेख गर्दै यस प्रक्रियामा अमेरिका, इजरायल, साउदी अरेबिया, युएई, कतार, टर्की, पाकिस्तान, बहराइन, कुवेत, जोर्डन र इजिप्ट लगायतका मुलुकहरू सहभागी रहेको बताएका छन् । उनले छलफलका अन्तिम बुँदाहरू अवधारणागत र विस्तृत रूपमा सबै पक्षद्वारा स्वीकृत भइसकेको समेत दाबी गरे ।

यद्यपि, यो सहमति (ट्रान्जेक्सन) पूर्ण रूपमा कार्यान्वयन नभएसम्म इरानमाथि लगाइएको सामुद्रिक घेराबन्दी भने पूर्ण रूपमा कायमै रहने उनले स्पष्ट पारेका छन्। सम्झौतामा हस्ताक्षर गर्ने समय र स्थान छिट्टै सार्वजनिक गरिने बताइएको छ ।

यसअघि राष्ट्रपति ट्रम्पले इरानको सैन्य शक्ति कमजोर भएको दाबी गर्दै बिहीबार राति नै इरानमाथि ठुलो सैन्य आक्रमण गर्ने चेतावनी दिएका थिए। उनले भेनेजुएला जस्तै इरानको सबैभन्दा ठुलो तेल निर्यात केन्द्र ‘खार्ग आइल्याण्ड र अन्य महत्त्वपूर्ण तेल-ग्यास ठेगानाहरूमा नियन्त्रण जमाउने धम्की समेत दिएका थिए । तर पछिल्लो कुटनीतिक विकासक्रमसँगै उनले सैन्य कारबाही तत्कालका लागि रोकेको घोषणा गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय