कर्मचारी संगठन कार्यालयमा प्रहरी हस्तक्षेप,एकसय बढी पक्राउ
rajdhanidaily.com · Mon Sep 20 16:55:30 GMT 2021
काठमाडौ । प्रमुख प्रतीपक्षी नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको कार्यालयमा प्रहरीले हस्तक्षेप गरि १ सय बढि कर्मचारीलाई पक्राउ गरेको छ । नेकपा एकिकृत समाजवादी निकट मानिने कर्मचारीहरुले बबरमहलमा रहेको एमाले निकट निजामती कर्मचारी संगठनको केन्द्रिय कार्यालय कब्जा गर्ने प्रयास गरेपछि दुई पक्षबीच भनाभन र झण्डै हात हालाहालको स्थिति भएको थियो । दुबै पक्षले संगठनको कार्यालयमा दावी गरेपछि प्रहरीले अप्रिय स्थिति आउन नदिन संगठनको कार्यालयमा तालाबन्दि गरिएको जनाएको छ ।
नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार प्रसाद देवकोटा, वरिष्ट उपाध्यक्ष लेखनाथ कोइराला, उपाध्यक्ष भवानी दाहाल लगायतका पदाधिकारीहरु संगठनको कामको सिलसिलामा कार्यालयमा रहेको अवस्थामा नेकपा एकिकृत समाजवादी निकट मानिने संगठनकै पुर्व अध्यक्ष मोहन कुमार घिमिरे, महासचिव रेवन्त गौतम, शरणकुमार गुरुङ, राजन रेग्मी लगायतको समुह कार्यालयमा पुगेर कार्यालय कब्जा गर्ने प्रयास गरेका थिए । सोही क्रममा दुबै पक्षवीच भनाभन र विवाद भएको थियो । त्यसलगत्तै आएको प्रहरीको समुहले हस्तक्षेप गरि दुबै पक्षलाई पक्राउ गरेको हो । एमाले निकट संगठनका पदाधिकारी सहित ६० जनालाई पक्राउ गरिएको थियो भने संगठनकै असन्तुष्ट एकिकृत समाजावादी समर्थक ४७ जनालाई पक्राउ गरिएको थियो । असन्तुष्ट पक्षले एमाले विरुद्ध नाराबाजी गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)