मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप २०२६ को उद्घाटन खेलमा मेक्सिको विजयी, रातो कार्डको वर्षा

lokaantar.com

फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सह-आयोजक मेक्सिको विजयी भएको छ।

नेपाली समयअनुसार शुक्रबार बिहान मेक्सिको सिटीस्थित ऐतिहासिक एस्टेका स्टेडियममा भएको तनावपूर्ण खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोल अन्तरले पराजित गरेको हो।

८० हजार ८ सय २४ दर्शकको उत्साहजनक उपस्थिति र गायिका शकिराको विशेष सांगीतिक प्रस्तुतिसहित सुरु भएको उद्घाटन समारोहपछि मैदानमा मेक्सिकोले आफ्नो दबदबा कायम राख्यो।

खेलको ९ औँ मिनेटमै जुलियन क्विनोनेसले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। एरिक लिराले बल खोसेर दिएको पासलाई क्विनोनेसले आकर्षक फिनिसिङ दिएका थिए। पहिलो हाफमा १–० को अग्रता बनाएको मेक्सिकोका लागि दोस्रो हाफ थप नाटकीय बन्यो।

४९ औँ मिनेटमा दक्षिण अफ्रिकाका याया सिथोले रातो कार्ड खाएर मैदान बाहिरिएपछि दक्षिण अफ्रिका १० खेलाडीमा सीमित भएको थियो।

खेलको ६७ औँ मिनेटमा ३५ वर्षीय अनुभवी स्ट्राइकर राउल जिमेनेजले रोबर्टो अल्भाराडोको क्रसमा उत्कृष्ट हेडिङ गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए।

विश्वकपमा आफ्नो पहिलो गोल गरेपछि जिमेनेज निकै भावुक देखिएका थिए।

खेलको अन्त्यतिर मैदानमा निकै तनाव देखिएको थियो। ८४ औँ मिनेटमा दक्षिण अफ्रिकाका वैकल्पिक खेलाडी थेम्बा ज्वानेले विपक्षी खेलाडीलाई थप्पड हानेपछि रेफ्रीले उनलाई पनि रातो कार्ड देखाए। योसँगै दक्षिण अफ्रिका ९ खेलाडीमा झरेको थियो।

इन्जुरी समयमा मेक्सिकोका सेसर मोन्टेसले पनि रातो कार्ड पाएपछि खेलमा कुल तीन रातो कार्ड देखाइएको थियो । जितसँगै मेक्सिकोले समूह 'ए' मा स्पष्ट ३ अंक जोडेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

सम्बन्धित विषय