एक दिनको करेक्सनपछि बढ्यो सेयर बजार
nayapatrikadaily.com · Wed Nov 03 00:34:00 GMT 2021
सेयर बजार एक दिनको करेक्सनपछि पुनः बढेको छ । सोमबार बजार करेक्सन भएको थियो । मंगलबार पनि कारोबार अवधिभर लगानीकर्ताबीच नाफा बुक गर्ने होडका बीच अन्त्यमा बजार सकारात्मक रहेर बन्द हुन पुगेको हो । मंगलबारको बजारलाई राष्ट्र बैंकको अभिव्यक्तिले पनि बजारलाई सकारात्मक बनाउनका लागि महत्वपूर्ण भूमिका खेलेको थियो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिएको भाषणले पनि बजारलाई उचाल्ने काम गरेको बताइन्छ । अधिकारीले पुँजी बजारलाई कुनै नीतिले कस्ने काम नभएको तथा बैंकको कर्जामा ब्याजदर बढ्न नदिने अधिकारीले बताएका थिए । गभर्नरको अभिव्यक्तिले चार करोड र १२ करोड रुपैयाँको सेयर कर्जा विवाद समाधानतर्फ अघि बढ्ने विश्वास गर्दै लगानीकर्ता उत्साहित बनेका हुन् ।
मंगलबार नेप्से सूचक २३ दशमलव ७६ अंकले बढेर दुई हजार आठ सय ४३ दशमलव ६२ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स २ दशमलव ४८ अंकले बढेको छ । कारोबारमा आएका १३ वटै समूहका सूचकमध्ये हाइड्रोपावर, फाइनान्स, जीवन बिमालगायत समूहमा लगानीकर्ता आकर्षित भएको देखिएको छ । कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केही गिरावट आएको छ । सोमबार सात अर्बको कारोबार भएकोमा मंगलबार भने धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३० कम्पनीको एक करोड कित्ता सेयर खरिद–बिक्री हुँदा ६ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)