फिफा विश्वकप २०२६ : मेक्सिकोको विजयी सुरुवात, ३ खेलाडीलाई रातो कार्ड
nepalviews.com · Fri Jun 12 00:26:12 GMT 2026

काठमाडौं । सन् २०२६ को फिफा विश्वकपको पहिलो खेलमा सहआयोजक मेक्सिकोले सानदार सुरुवात गरेको छ। ऐतिहासिक एज्टेका स्टेडियममा सम्पन्न उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० गोलअन्तरले पराजित गर्दै महत्त्वपूर्ण ३ अंक जोड्न सफल भएको हो।
विश्वकपको इतिहासमा तेस्रो पटक आयोजनाको अवसर पाएर कीर्तिमान रचेको यस खचाखच भरिएको रंगशालामा घरेलु टोलीलाई जिताउन जुलियन क्विनोनेस र राउल जिमेनेजले एक-एक गोलको योगदान दिए। खेल सुरु भएको नवौँ मिनेटमै दक्षिण अफ्रिकी डिफेन्डरले बल नियन्त्रणमा गुमाएको गल्तीको फाइदा उठाउँदै इरिक लिराको पासमा क्विनोनेसले गोलको खाता खोलेका थिए। पहिलो हाफको ४२औं मिनेटमा क्विनोनेसले नै गरेको अर्को उत्कृष्ट प्रहार भने गोलपोस्टमा लागेर फर्किएको थियो।
निकै तनावपूर्ण बनेको यस खेलमा ब्राजिलियन रेफ्रीले कुल तीनवटा रातो कार्डको प्रयोग गरे। दोस्रो हाफको सुरुवातमै (४९औं मिनेट) विपक्षीलाई लडाएपछि दक्षिण अफ्रिकाका सेफेलो सिथोल सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। १० खेलाडीमा सीमित दक्षिण अफ्रिकाविरुद्ध ६७औं मिनेटमा मेक्सिकोका जिमेनेजले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
त्यसपछि खेलको ८४औं मिनेटमा थेम्बा ज्वानेले पनि रातो कार्ड पाएपछि दक्षिण अफ्रिका ९ खेलाडीमा खुम्चिन पुग्यो। यता, खेलको इन्जुरी (अतिरिक्त) समयमा मेक्सिकोका सेजर मोन्टेसले समेत रातो कार्ड पाएपछि दुवै टोलीले आफ्ना खेलाडी गुमाएका थिए।
यो उद्घाटन खेल मेक्सिकन युवा प्रतिभा गिल्बर्टो मोराका लागि पनि कीर्तिमानी रह्यो। यस खेलमा डेब्यु गरेसँगै उनी विश्वकप खेल्ने उत्तर अमेरिका तथा मेक्सिकोकै सबैभन्दा कान्छा खेलाडी बनेका छन्। फिफा विश्वकप २०२६ कै सबैभन्दा कान्छा खेलाडी बनेका मोरा समग्र विश्वकप इतिहासमा भने डेब्यु गर्ने छैटौं कान्छा खेलाडी हुन्।
यस जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले प्रतियोगितामा सुखद सुरुवात गर्दै अघिल्लो चरणको यात्रालाई केही सहज बनाएको छ भने पराजित दक्षिण अफ्रिकालाई सुरुवातमै ठूलो दबाब परेको छ। यसै समूहको अर्को खेलमा आजै बिहान ७:४५ बजे चेक रिपब्लिक र दक्षिण कोरिया प्रतिस्पर्धा गर्दैछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
फिफा
काठमाडौँ