चुनावअघि ३० अर्ब आन्तरिक ऋण उठाइँदै
nayapatrikadaily.com · Tue Nov 08 00:45:00 GMT 2022
संघीय तथा प्रदेश निर्वाचनमा दैनिक खर्च धान्न स्रोत अभाव हुने भएपछि सरकारले चर्काे ब्याजदरमा आन्तरिक ऋण लिने भएको छ । अर्थ मन्त्रालयले चुनावअघि नै स्रोत व्यवस्थापन हुने गरी आन्तरिक ऋणको तालिका स्वीकृत गरेको हो । मन्त्रालयअनुसार दोस्रो त्रैमास (कात्तिक–पुस)मा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तालिका स्वीकृत भएको छ । सरकारले जारी गरिरहेको ट्रेजरी बिल्सको ब्याजदर अहिले १२ प्रतिशत नाघिसकेको छ ।
लक्ष्यअनुसार राजस्व नउठेपछि चुनावी खर्च धान्नकै लागि आन्तरिक ऋण उठाउनुपरेको अर्थ मन्त्रालयका एक अधिकारीले बताए । सरकारले चालू आर्थिक वर्षको पहिलो चार महिनामा (साउनदेखि कात्तिकसम्म) तीन खर्ब ७१ अर्ब राजस्व उठाउने लक्ष्य लिएको थियो । तर, २० कात्तिकसम्म दुई खर्ब ३२ अर्ब मात्रै राजस्व संकलन भएको छ । आयात कडाइले राजस्व संकलन सोचेअनुरूप नभएपछि सरकारले आन्तरिक ऋण उठाउन लागेको हो । महालेखा नियन्त्रकको कार्यालयअनुसार शुक्रबारसम्म सञ्चित कोष करिब ८० अर्बले घाटामा छ । विदेशी मुद्राको सञ्चिति बढाउन सरकारले केही वस्तुको आयातमा कडाइ गर्दा भन्सारतर्फको राजस्वमा धक्का पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)