तीन खेलअघि नै सिटी प्रिमियर लिग च्याम्पियन
nayapatrikadaily.com · Wed May 12 17:17:00 GMT 2021
म्यानचेस्टर सिटी पछिल्लो चारमध्ये तीन वर्षको इंग्लिस प्रिमियर लिग च्याम्पियन बनेको छ । सन् २०२०/२१ को सिजनमा भने सिटीले तीन खेलअघि नै उपाधि सुरक्षित गरेको छ ।
उपाधिको अर्को दाबेदार म्यानचेस्टर युनाइटेड २–१ ले लेस्टरसँग घरेलु मैदानमा पराजित भएपछि सिटीलाई सहज भएको हो । सिटीले समग्रमा सातौँपटक इंग्लिस प्रिमियर लिग च्याम्पियनसिपको उपाधि उचाल्ने पक्का भएको छ । सिटीलाई यो सफलता स्पेनिस प्रशिक्षक पेप ग्वार्डिओलाले दिएका हुन् । सिटीले दोस्रो स्थानमा रहेको युनाइटेडसँग स्पष्ट १० अंकको अग्रता लिएको छ । आउने तीन खेलमा सिटी पराजित भए पनि युनाइटेडले सिटीलाई भेटाउन सक्नेछैन । सिटीले ३५ खेलबाट ८० अंक जोडेको छ । युनाइटेडले समान खेलबाट ७० अंक हात पारेको छ । युनाइटेडलाई हराएको लेस्टरले ३६ खेलबाट ६६ अंक जोड्दै शीर्ष चारको दाबेदारी दिइरहेको छ । गत साता चेल्सीसँग पराजित हुँदा सिटीको उपाधि जित्ने अभियानमा धक्का लागेको थियो । सिटी लगातार तीन खेलमा पराजित भए म्यानचेस्टर युनाइटेडको उपाधि जित्ने मौका थियो । यता युनाइटेडले पनि लगातार खेलमा जित हासिल गर्नुपर्ने थियो । तर, मंगलबार राति घरेलु मैदानमा लेस्टरसँग २–१ ले युनाइटेड पराजित भएपछि सिटीले उपाधि उचाल्ने अवसर पाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)