खाडी क्षेत्रको क्षति भरपाइ इरानको रोक्का रकमबाट गर्छौं : अमेरिका
nepalviews.com · Fri Jun 12 00:49:37 GMT 2026

काठमाडौं । अमेरिकाले इरानको रोक्का (फ्रिज) गरिएको रकमलाई युद्धका कारण खाडी क्षेत्रमा भएको क्षतिको पुनर्निर्माण र भरपाइका लागि प्रयोग गर्ने घोषणा गरेको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बिहीबार यसको पुष्टि गर्दै आफ्ना सहयोगी राष्ट्रहरूलाई परेको क्षतिको क्षतिपूर्ति इरानी खाताबाटै गरिने प्रतिबद्धता जनाएका हुन्।
सामाजिक सञ्जाल एक्समा लेख्दै अर्थमन्त्री बेसेन्टले भनेका छन्, 'खाडीमा हाम्रा सहयोगीहरूलाई हुने कुनै पनि क्षतिको भुक्तानी इरानी खाताहरूबाट निकालिएको रकमबाटै गरिनेछ।'
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप आक्रमण गर्ने र उसका प्रमुख तेल संरचनाहरू नियन्त्रणमा लिने चेतावनी दिएलगत्तै अर्थमन्त्री बेसेन्टको यस्तो भनाइ सार्वजनिक भएको हो।
गत फेब्रुअरीको अन्त्यदेखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण तीव्र पारेका छन्, जसले मध्यपूर्वसँगै विश्वभरको अर्थतन्त्रमा असर पारेको छ।
विशेषगरी, विश्वको कुल इन्धन आपूर्तिको करिब २० प्रतिशत (पाँच भागको एक भाग) हिस्सा ओसारपसार हुने इरानी जलमार्ग प्रभावित हुँदा विश्व बजारमा ऊर्जाको लागत अकासिएको छ।
अर्थमन्त्री बेसेन्टले इरानले गरिरहेको आक्रमणले उसैलाई गम्भीर आर्थिक तथा वित्तीय सङ्कटतर्फ धकेलिरहेको चेतावनी दिएका छन्।
उनले स्ट्रेट अफ हर्मुजमा जलमार्ग प्रयोग गरेबापत पानीजहाजहरूसँग शुल्क उठाउन इरानले खडा गरेको नयाँ निकाय पर्सियन गल्फ रिजन अथोरिटीलाई बुझाइएको कुनै पनि राजस्व इरानकै खाताबाट काटेर सम्बन्धित पक्षलाई फिर्ता गरिनेसमेत स्पष्ट पारेका छन्।
इरानले युद्धको सुरुवाती चरणदेखि नै रणनीतिक महत्त्वको हर्मुज जलमार्ग बन्द गर्दै आएको छ। बिहीबार मात्रै उक्त प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि हर्मुज पूर्ण रूपमा बन्द रहने जनाएको छ।
वासिङ्टनले हर्मुजमा इरानले लादेको यस राजस्व प्रणालीलाई कुनै पनि हालतमा स्वीकार नगर्ने र यसको कार्यान्वयनमा संलग्न पक्षहरूमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी यसअघि नै दिइसकेको छ।
(एजेन्सीहरूको सहयोगमा)
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
इजरायल
डोनाल्ड ट्रम्प
काठमाडौँ