बर्खे भेलसँग बग्दै बजेट
rajdhanidaily.com · Tue Jun 29 23:25:25 GMT 2021
चालू आर्थिक वर्षको बजेट अहिले पनि बर्खे भेलसँगै बगिरहेको छ । आर्थिक वर्षको अन्तिम महिना असारमा विकासे बजेट बर्खे भेलसँगै बग्दै आएका छन् । हरेक वर्ष भोग्नुपर्ने यो नियती यस वर्ष पनि अन्त्य भएन । यस्तो नियती अन्त्य हुन नसक्दा विकास निर्माणका लागि छुट्याइएको बजेट जहिले पनि पूर्ण रूपमा उपयोग हुन सकेन । तर, सो बजेट कतैकतै फ्रिज हुनेबाहेक अधिकांश खर्च भएकै देखिएको हुन्छ । लेखा परीक्षणमा पनि खर्च र भुक्तानी आएकै देखिन्छ । तर, विकासे बजेट सही किसिमले सदुपयोग भएको भने हुँदैन । हरेक वर्ष बजेट प्रस्तुत गरिसकेपछि बर्खायाम सुरु हुने । त्यसलगत्तै चाड पर्व सुरु हुने । यसपछि हिउँदे जाडो र राजनीतिक खिचातानी सुर हुने प्रक्रिया सुरु हुन्छ । हिउँदभरि राजनीतिक खिचातानी, ठेक्कापट्टाको अदलीबदली हुने र ठेकेदारहरू अघिल्लो वर्ष बाँकी रहेका ठेक्काको काम पूरा गर्न लागि पर्ने गर्छन् । चालू वर्षको नयाँ ठेक्काको पेस्की बुझेपछि पुरानो ठेक्का पूरा गर्नतिर लाग्ने र नयाँ ठेक्काको काम अलपत्र पार्ने गरिरहेको देखिन्छ । यो खालको काम गराई विकास निर्माणको मामलामा नौलो भने होइन । यस्तो नियती सुधारका लागि थुप्रैपटक आलोचना र जनस्तरबाटै उजुरी पनि आइरहेकै हुन्छन् । तर, पनि यसमा खासै सुधार हुन सकेको देखिएको छैन ।
यस्तो प्रचलन फेर्न र काम समयमै सम्पन्न गर्न सरकारले आर्थिक वर्षको बजेट केही महिना अघि नै प्रस्तुत गर्नेगरी नयाँ प्रचलनको पनि सुरुवात ग¥यो । पहिले हरेक असारमा आउने बजेट केही वर्ष अघिदेखि नयाँ वर्ष सुरु हुनेबित्तिकै ल्याउने प्रचलन अघि बढाइयो । सधंैभरि विकासे बजेट समयमा खर्च नहुने र आर्थिक वर्षको अन्तिम महिना असारमा असारे भेलसँगै खर्च गरिने प्रचलन अन्त्य गर्न यसो गरिएको हो । तर, पनि यो नियतीमा सुधार आएन । चालू आर्थिक वर्षको विकासे बजेट पनि असार महिनामा धमाधम खर्च गरिँदै छ । काम पनि भइरहेको छ । मजदुर पनि खटिरहेका छन् । मेसिन, औजार पनि प्रयोग भइरहेका छन् । तर, बर्खे भेलले गरेका काम नगरेको सरह बनाइरहेको छ । कागजी रूपमा हेर्दा सबै कुरा दुरुस्त छ । मिलेको छ । तर, यर्थाथमा पुग्दा बाटो खनिएको ठाउँमा बाटो भत्किएको हुन्छ । अन्य भौतिक पूर्वाधार निर्माण गरिएको ठाउँमा भेल तथा पहिरोले विनाश निम्त्याइरहेको हुन्छ । साधन, शक्ति र जनश्रम खर्च त भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)