चैतबाट कृषि बिमा नगर्ने चेतावनी
nayapatrikadaily.com · Thu Mar 07 00:31:00 GMT 2024
सरकारले बिमाशुल्कमा दिने अनुदानबापतको रकम भुक्तानी नगरेपछि निर्जीवन बिमा कम्पनीहरूले १ चैतबाट कृषि तथा पशुपक्षी बिमा स्थगित गर्ने भएका छन् । सरकारले किसानलाई बिमाशुल्कमा दिने अनुदानबापत बिमा कम्पनीलाई दुई अर्ब शोधभर्ना भुक्तानी गर्नुपर्नेछ । सो रकम नपाए १ चैतबाट कृषि तथा पशुपक्षी बिमाको कारोबार स्थगित गर्ने कम्पनीहरूले चेतावनी दिएका हुन् । बुधबार सम्पन्न निर्जीवन बिमक संघको बैठकले यस्तो निर्णय गरेको हो ।
कृषि र पशुपक्षी बिमाको शुल्कमा सरकारले ८० प्रतिशत अनुदान दिनुुपर्ने व्यवस्था छ । सोहीअनुसार कम्पनीले किसानबाट २० प्रतिशत मात्रै शुल्क लिने गर्छन् । तर, सरकारले पशुपक्षी बिमातर्फ गत आव ०७९÷८० को भदौदेखि अनुदान दिएको छैन । पशुपंक्षी बिमातर्फ झन्डै डेढ अर्ब अनुदान बक्यौता छ । यसैगरी कृषि बिमातर्फ ०७९ चैतयताको अनुदान बक्यौता बाँकी छ । पटक–पटक ताकेता गर्दा पनि पैसा नपाएपछि कारोबार स्थगित गर्ने निर्णय गर्न बाध्य भएको संघका अध्यक्ष चंकी क्षेत्रीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)