मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

छत्रकोटद्वारा ‘स्मार्ट आमा’ सम्मान

gorkhapatraonline.com · Fri Jun 12 01:13:53 GMT 2026

गुल्मीको छत्रकोट गाउँपालिका–१, हुँगाकी २९ वर्षीया जानुका भण्डारीलाई छत्रकोट गाउँपालिकाले ‘स्मार्ट आमा’का रूपमा सम्मान गरेको छ। उहाँकी ३१ महिनाकी छोरी सृजा काखमा छिन् भने गर्भमा पाँच महिनाको अर्को शिशु हुर्किरहेको छ।

गर्भावस्था आफैँमा संवेदनशील अवस्था हो। हेरचाह गर्ने श्रीमान् बिनोद विदेशमा भए पनि परिवार र गाउँपालिकाको सहयोगले आफू ढुक्क रहेको जानुकाले बताउनुभयो। आफ्नो स्वास्थ्यप्रति सजग र सचेत बन्न ‘स्मार्ट आमा’ कार्यक्रमले ठूलो योगदान गरेको उहाँको भनाइ छ।

“गाउँपालिकाबाट सम्मानित हुँदा खुसी पनि लाग्यो र जिम्मेवारीको अनुभूति पनि भयो। कार्यक्रमले स्वास्थ्यप्रति सचेत बन्न धेरै सहयोग गरेको छ,” उहाँले भन्नुभयो।

गर्भवती अवस्थामा उचित उपचार, हेरचाह र पोषणको अभावमा अझै पनि कतिपय आमाहरूले ज्यान गुमाउने गरेका छन्। यही अवस्थालाई सुधार गर्न छत्रकोट गाउँपालिकाले गर्भावस्थादेखि बच्चा दुई वर्षको नहुँदासम्म आमा र शिशुको स्वास्थ्य अवस्था सुदृढ बनाउन ‘स्मार्ट आमा’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रमअन्तर्गत उत्कृष्ट आमाहरूलाई हरेक वर्ष सम्मानसमेत गरिन्छ।

छत्रकोट गाउँपालिकाका छ वटै वडामा सुनौलो हजार दिन पूरा गरेका १८२ जना आमाहरू रहेका छन्। उनीहरूको घर–घरमा पुगेर मूल्याङ्कन गरेपछि प्रत्येक वडाबाट तीन जनाका दरले ‘स्मार्ट आमा’ छनोट गरी सम्मान गरिएको स्वास्थ्य संयोजक श्यामसुन्दर पोख्रेलले जानकारी दिनुभयो।

उहाँका अनुसार कार्यक्रम विगत दुई वर्षदेखि सञ्चालनमा छ। गर्भजाँच, पोषण, खोप, आइरन चक्की सेवन, सरसफाइ, जन्मान्तर, जन्मदर्ता, तौल परीक्षणलगायत २२ वटा सूचकका आधारमा सबै मापदण्ड पूरा गर्ने आमाहरूलाई ‘स्मार्ट आमा’का रूपमा सम्मान गरिन्छ।

सम्मानित आमाहरूलाई झोला, बुकी तथा फूलमालासहित सम्मान गरिएको थियो। गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले पूर्ण संस्थागत प्रसूति गाउँपालिका सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा स्मार्ट आमा र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गर्नुभएको थियो।

त्यसैगरी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानजनक बिदाइ तथा वार्षिक निर्वाहमुखी भत्ता वितरण गरेको छ। ६० वर्ष उमेर पूरा गरी बिदाइ हुने महिला स्वास्थ्य स्वयंसेविकालाई सेवा अवधिका आधारमा वार्षिक २४ हजार रुपियाँ भत्ता तथा अधिकतम ३० हजार रुपियाँसम्म सम्मानजनक बिदाइ रकम प्रदान गर्ने गरिएको छ।

हालसम्म सेवा अवधि पूरा गरी उक्त सुविधा प्राप्त गर्ने छत्रकोट गाउँपालिकाका छ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)