मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चरम समस्यामा चिया उद्यमी, उद्योग बन्द गर्ने मनस्थिति

gorkhapatraonline.com · Fri Jun 12 01:18:20 GMT 2026

साना किसानका लागि आम्दानीको भरपर्दो स्रोत बन्न थालेको नेपाली चिया भारत निकासीमा अन्योल भएपछि चिया व्यवसायी चिन्तित बनेका छन् । पछिल्लो समय भारतको टी बोर्डले भारत आयात हुने चियामा कडाइ गर्दै ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ लागु गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि भारत पुगेको चिया उतै रोकिएको व्यवसायीको भनाइ छ ।

प्रयोगशाला परीक्षण गर्न लगिएको धेरै नमुनाको रिपोर्ट अझै नआएको र आएकोमध्ये अर्गानिक प्रमाणीकरण भएर तेस्रो मुलुक गइरहेको एक प्रतिष्ठित उद्योगको चियामा दोष देखाएको चिया व्यवसायीले बताएका छन् ।

“अन्तर्राष्ट्रिय संस्थाबाट प्रमाणीकरण भएर तेस्रो मुलुक निकासी भइरहेको चियामा त दोष लगाएको छ । अर्गानिक भए पनि अन्तर्राष्ट्रिय संस्थाबाट प्रमाणीकरण गर्न नसकिएका चियामा त राम्रो रिपोर्ट आउला भन्ने आशा हराएको छ,” सूर्योदय नगरपालिकास्थित तारागाउँ टी उद्योगका सञ्चालक उत्तमकुमार प्रधानले भन्नुभयो, “यो त भारतमा नेपाली चिया जान नदिने भारतको रणनीति हो । अब नेपाली चिया भारत जाँदैन भन्नेमा ढुक्क भए हुन्छ ।”

नेपालबाट भारत निर्यात भएर करिब २० दिनयता थन्किएको चियाको अझै रिपोर्ट नआएपछि अब के गर्ने भन्नेमा उद्योगी सोच्न बाध्य भएको अर्का चिया व्यवसायी ज्ञानी लिम्बूको भनाइ छ । “भारत निकासी हुँदैन, निकासी भएको चिया कोलकाता र सिलिगुढीको गोदाममा थन्किएको छ । बिक्रीको टुङ्गो छैन । अब हामीले पनि उद्योग बन्द गर्नुपर्ने अवस्था छ । आउँदो असार १ गतेबाट उद्योग बन्द गर्ने विषयमा हामी छलफल गर्न थालेका छौँ,” लिम्बूले भन्नुभयो । उहाँले सरकारले नै यसको समाधान गर्नुपर्नेसमेत बताउनुभयो । नेपालको पूर्वी सिमाना सूर्योदय नगरपालिका–४ र ५ बाट भने भारतीय चिया व्यवसायीले हरियो पत्ती राम्रो मूल्यमा लाने गरेको उद्योगी बताउँछन् । अन्तुमै रहेको श्रीअन्तु गोर्खा टीका सञ्चालक अभिनन्द गिरीले अहिले पनि खुला सिमानाका कारण भारतीय व्यापारीले नेपाल आएर किसानबाट हरियो पत्ती लाने गरेको बताउनुभयो ।

“भारतीय व्यापारीले भारतीय ५५–६० रुपियाँ प्रतिकिलोका दरले चिया खरिद गरेर लाने गरेका छन् । जस्तो पनि चिया उनीहरूले लाने भएपछि नेपाली उद्योगलाई चिया बेच्न किसान पनि चाहँदैनन्,” गिरीले भन्नुभयो, “भारतीयले जस्तोसुकै पत्तीको मूल्य राम्रो दिने, नेपाली उद्योगमा भने गुणस्तरको चिया मात्र खोज्ने भएकाले पनि किसानले भारतीयलाई हरियो पत्ती दिने गरेका छन् ।” यसरी हरियो पत्ती भारतका उद्योगले लानु र नेपालमा तयारी भएर भारत जाने चिया रोकिनु भनेको नेपाली चिया रोक्ने नै भारतको रणनीति रहेको गिरीको बुझाइ छ ।

गत मे १ देखि भारत निर्यात हुने नेपाली चियामा कडाइ भएपछि पटक पटक सरकार गुहारेका नेपाली किसान र व्यवसायीको कुरालाई सरकारले भने चासो दिएको छैन । वार्षिक अर्बौं रुपियाँको चिया निर्यात हुने गरेकामा मे महिनायता निकासीमा कडाइ भएपछि सूर्योदय नगरपालिकाले सङ्घीय सरकारलाई पुनः भारतसँग छलफल र कूटनीतिक पहल गर्न आग्रह गरेको छ ।

नगरका कार्यवाहक प्रमुख दुर्गाकुमार बरालले नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाई पत्र पठाएर कूटनीतिक पहलका लागि आग्रह गर्नुभएको छ । पत्रमा पछिल्लो पटक गएको जेठ ६ गतेदेखि सुरु भएको चिया निर्यात हाल अघोषित रूपमा अवरोध भएको उल्लेख छ ।

नगरपालिकाले मन्त्रालयमा पठाएको पत्रमा विभिन्न कारण देखाउँदै अघोषित रूपमा नेपाली चिया निर्यात बन्द हुँदा नेपाली किसान, श्रमिक, व्यवसायीको रोजीरोटीको अवस्था गुम्ने खतरा रहेको र देशको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने उल्लेख गरिएको छ । पत्रमा भारतीय टी बोर्डले गरेको कडाइलाई पूर्ववत् सम्झौता र समझदारी अनुसार चिया निकासीको वातावरण सुनिश्चित गर्न सरकारलाई आग्रह गरिएको छ ।

चिया निर्यात रोकिएपछि इलामका चिया उद्योगीलाई बोलाएर नगरपालिकाले चियाको समस्या र समाधानका विषयमा छलफल गरेको छ ।

बर्सेनि चिया क्षेत्रमा जनशक्ति अभाव हुन थालेपछि सूर्योदय नगरपालिकाले श्रम बैङ्क बनाउने तयारी गरेको छ । चियामा गुणस्तर कायम गर्न हातको टिपाइ नै मुख्य रहेकाले श्रम बैङ्क बनाउने तयारी गरिएको नगरका कार्यवाहक प्रमुख दुर्गाकुमार बरालले बताउनुभयो ।

जनशक्ति अभाव भएपछि किसानले मेसिनको प्रयोग गरेर हरियो पत्ती टिप्ने गरेका छन् । गुणस्तरीय चियाका लागि हाते टिपाइ नै मुख्य हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)