आइओसीको दबाबपछि ट्यांकर स्तरोन्नति गरिँदै
nayapatrikadaily.com · Wed Jan 17 00:28:00 GMT 2024
इन्डियन आयल कर्पोरेसन (आइओसी)को दबाबपछि भारतबाट इन्धन ओसार्ने ट्यांकरमा बटम लोडिङ प्रविधि (ट्यांकरको तल्लो भागबाट तेल हाल्ने विधि) जडानलाई नेपाल आयल निगमले तीव्रता दिन थालेको छ ।उत्तर प्रदेशको बैतालपुरस्थित आइओसीको डिपोले केही दिनअघि बटम लोडिङ नभएको ट्यांकरमा पेट्रोल नपठाउने चेतावनी दिएपछि निगमले भारतबाट तेल ओसार्ने ट्यांकरमा यस्तो प्रविधि जडान गर्न थालेको हो । बैतालपुरबाट लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवा डिपोमा पेट्रोल ओसार्ने ४८ ट्यांकरमा बटम लोडिङ जडानको गृहकार्य थालिएको निगम प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
‘बैतालपुर–भैरहवा रुटमा पेट्रोल ढुवानी गर्ने सातवटा ट्यांकरमा रेट्रोफिटिङ गरी बटम लोडिङ गर्न सक्ने प्रविधि जडानको काम थालिसकेका छौँ,’ ठाकुरले भने, ‘पहिलो चरणमा सातवटा ट्यांकर बटम लोडिङका लागि तयार हुनासाथ थप सातवटालाई पनि यही प्रविधि जडानका लागि पठाइहाल्छौँ ।’ बैतालपुर डिपोले आगामी दुई महिनापछि बटम लोडिङबाट मात्रै नेपालका ट्यांकरलाई तेल दिने बताएको छ । निगमको लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवाको प्रमुख कमला न्यौपानेले ट्यांकरलाई बटम लोडिङ योग्य बनाउन ढुवानीकर्ताहरूलाई पत्राचार गरिसकेको जानकारी दिईन् । ‘बैतालपुरबाट पेट्रोल ल्याउन अहिले ४८ ट्यांकरलाई बटम लोडिङ योग्य बनाउँछौं, त्यसका लागि आवश्यक तयारी गर्न ढुवानीकर्तालाई पनि भनेका छौं’ उनले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)