रेम्डिसिभिरको कालोबजारी रोक
rajdhanidaily.com · Mon May 03 23:21:37 GMT 2021
कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढ्दै जाँदा बिरामीका लागि आवश्यक पर्ने औषधीको अभाव देखिन थालेको छ । औषधी अभावका कारण दुःख झेलिरहेका बिरामी बाध्यात्मक रूपमा विभिन्न प्रकारका औषधी खरिद तथा प्रयोग गर्न बाध्य भइरहेका छन् । पछिल्लो समयमा बजारमा सुपथ मूल्यमा प्राप्त हुने रेम्डिसिभिरको पनि अभाव देखिन थालेको छ । नेपालको औषधी बजारमा रेम्डिसिभिरको अभाव स्वाभाविकभन्दा पनि बढी कृत्रिमतापूर्ण अभाव सिर्जना गराइएको देखिन्छ । पोहोर साल कोरोनाको पहिलो लहरको संक्रमण बढ्दै गर्दा चर्चामा आएको रेम्डिसिभिर कोरोना महामारीको दोस्रो लहरसँगै बजारमा अभाव भएको देखिएको छ । प्रयोगकर्ताका अनुसार रेम्डिसिभिर अभाव मात्र होइन निकै कालाबजारी हुने गरेको छ । यसको मात्रा पु¥याएर प्रयोग गर्नका लागि पाँच भाइल मात्रा आवश्यक हुन्छ । कालोबजारी मूल्य ४० हजारदेखि २ लाखसम्म पर्ने गरेको छ । जबकी रेम्डिसिभिरको पूरा डोजको मूल्य ५ हजार भारुसम्म हो । त्यसको नेपाली मूल्य बढीमा ८ हजारसम्म हुन आउँछ । तर, हाल नेपाली औषधी बजारमा अन्य वैकल्पिक औषधी पनि नल्याइएको र रेम्डिसिभिर पनि अभाव रहेको हुनाले यसको मूल्य आकासिएको हो ।
सुरुमा डेंगु रोग नियन्त्रणका लागि प्रयोगमा ल्याइएको रेम्डिसिभिर चिकित्सकका अनुसार कोरोना महामारी संक्रमितका लागि पनि प्रभावकारी र फाइदाजनक हुने भएकाले यसको प्रयोग गर्दा कुनै हानि नहुने भनी सिफारिस भएसँगै नेपाल र भारतीय औषधी बजारमा यसको मूल्य एकाएक आकासिन पुगेको हो । हाल कोरोना संक्रमणविरुद्ध खोपको विकास भइसकेर प्रयोगमा आइसक्दा पनि रेम्डिसिभिरकै प्रयोग कति वैज्ञनिक छ चिकित्सक तथा चिकित्साविद्हरू यसबारे समयमै बोल्नु जरुरी भएको छ । लिदा राम्रो हुन्छ भन्ने डाक्टरको समान्य सुझाव तथा बिरामी र उनका अभिभावक के कसो गरे बिरामी निको हुन्छ भन्ने संकटमा परिरहेका बेला कतै औषधीको कालाबजारी गर्नेहरूले फाइदा त उठाइरहेका त छैनन् ? । यसबारे पनि नेपाल सरकार तथा यससँग सम्बन्धित स्वास्थ्य निकाय आधिकारिक रूपमा बोल्न जरुरी छ । त्यसो त सार्वजनिक जनस्वास्थ्यको विषय सरकारको जिम्मेवारीको विषय हो । कुन कुरो कति मात्रामा प्रयोग गर्दा फाइदा वा बेफाइदा हुन्छ सोको यथार्थ जानकारी समयमै दिन जरुरी हुन्छ । सर्वसाधारण जनताले पनि महामारी संक्रमणका बेला जनस्वास्थ्यसम्बन्धी कुराको सूचना पाउनु उनीहरूको नैर्सगिक अधिकारको कुरो हो । जनताको स्वास्थ्यभन्दा ठूलो कुरो अरू हुन सक्दैन । यो कुरा सरकारको अभिभावकत्वसँग जोडिएको कुरा पनि हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)