पीएल सिंहलाई भेट्न अस्पताल पुगे बालेन शाह
deshsanchar.com · Tue Aug 08 13:52:44 GMT 2023
काठमाडौँ – पूर्वमन्त्री तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पीएल सिंहलाई भेट्न काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह अस्पताल पुगेका छन्।
ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत सिंहलाई भेट्न मेयर शाह मंगलबार अस्पताल पुगेका हुन्। सिंह झण्डै डेढ सातादेखि पेटको रोगको उपचारका लागि अस्पतालमा छन्।
अस्पताल पुगेर मेयर शाहले सिंहको स्वास्थ्य अवस्थाबारे जानकारी लिए। त्यसक्रममा मेयर शाहले शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आफूले केही सहयोग गर्नुपर्छ कि भनेर जिज्ञाशा राखेका थिए।
त्यसक्रममा सिंहले चिया नखाने शाहलाई चिया खाएर जान आग्रह गरेका थिए। अस्पताल स्रोतले भन्यो, ‘उहाँले मेयर शाहलाई कमजोर आवाजमा चिया खाएर जान आग्रह गर्नुभयो। चिया नखाए कारबाही हुन्छ भन्नुभएको थियो।’
उनलाई लामो समयसम्म आबद्ध पार्टी कांग्रेसबाट सोधपुछ र भेट गर्न कोही नपुगे पनि मेयर शाह मंगलबार अचानक अस्पताल पुगेका हुन्।
सिंह २०४७ सालको संविधानपछिका काठमाडौँ महानगरपालिकाका प्रथम मेयर हुन्। कांग्रेससँग झण्डै ६ दशक लामो सम्बन्ध रहेका सिंहले पञ्चायतकाल र २०४७ को जनआन्दोलनताका अन्तर्राष्ट्रिय जगतसँग सम्पर्क र समन्यवकारी भूमिका खेलेका थिए। उनी विगत ८ वर्षदेखि गुमनाम छन्।
२०६२/०६३ को आन्दोलनपछि ब्यूँताइएको संसद्मा उनीसहित केवल दुईजना सदस्यले नैतिक मूल्यका कारण शपथ लिन अस्वीकार गरेका थिए। त्यसमा एकजना कृष्णप्रसाद भट्टराई र अर्का सिंह थिए। दुबैले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता बाहिरबाट लादिएको एजेन्डा भन्दै कांग्रेससँगको सम्बन्ध तोडेका थिए।
अस्पताल स्रोतका अनुसार उनको अल्सरको अप्रेशन गरिएको र स्वास्थ्यमा क्रमिक प्रगति भइरहेको छ। उनी अझै केहीदिन अस्पतालमा रहने छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)