पोल्ट्री व्यवसायको संरक्षण
gorkhapatraonline.com · Fri Jun 12 02:21:20 GMT 2026

नेपालमा साना किसानदेखि पोल्ट्री व्यवसायीसम्मको रोजीरोटी र आयआर्जनको प्रमुख स्रोत कुखुरा हो । मासु र अन्डाका लागि परापूर्वकालदेखि कुखुरा पाल्न थालिएको हो । पछिल्ला वर्षमा यसले व्यवसायको रूप लिँदै अर्थतन्त्रमा योगदान पु¥याएको छ । यस व्यवसायले मासु र अन्डामा आत्मनिर्भर बन्न सकिने आधार पनि दिएको छ । क्रमिक रूपले फस्टाएकोे यो व्यवसायका लागि ‘बर्ड फ्लु’ प्रमुख चुनौती बनेको छ । यसले पोल्ट्री व्यवसायलाई नै ठुलो जोखिममा पारेको छ । केही साताअघि कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा ‘बर्ड फ्लु’ देखियो । यसको सङ्क्रमण हाल काठमाडौँ उपत्यकासहित मुलुकका करिब एक दर्जन जिल्लामा फैलिएको छ । राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली (एनएएचआइएस) र ¥यापिड रेस्पोन्स टोली (आरआरटी) ले हालसम्म ५६ वटा पोल्ट्री फार्ममा ‘बर्ड फ्लु’ पुष्टि भएको जानकारी गराएको छ । सङ्क्रमण नियन्त्रणका लागि देशभर पाँच लाख ५३ हजार ६५० वटा पन्छी, १० लाख आठ हजार ९२८ वटा अन्डा र दुई लाख पाँच हजार ९७५ किलोग्राम दाना नष्ट गरिएको छ । यसले ५० करोड रुपियाँभन्दा बढीको प्रत्यक्ष आर्थिक क्षति पु¥याइसकेको छ । अप्रत्यक्ष क्षति यसभन्दा निकै ठुलो हुने अनुमान गरिएको छ । यस सङ्क्रमणले समग्र कृषिक्षेत्र र यसमा आश्रित हजारौँ किसान परिवारको जीविकोपार्जन सङ्कटमा पर्दै छ ।
हरेक वर्ष जसो मौसम परिवर्तनसँगै देशका विभिन्न भागमा ‘बर्ड फ्लु’ देखिने गरेको छ । सङ्क्रमणले किसानलाई ऋणको ठुलो भार थपिदिएको छ । विशेष गरी लेअर्स र स्थानीय जातका कुखुरामा सङ्क्रमण बढी देखिएको छ । यसको मुख्य कारण फार्महरूमा जैविक सुरक्षाको अभाव र बजारमा अन्डाका क्रेटहरूको अव्यवस्थित पुनप्र्रयोगलाई मानिएको छ । पशु चिकित्सकका अनुसार ‘बर्ड फ्लु’ सङ्क्रमणको सुरुवाती चरणमै पहिचान गरी बजार र ओसारपसारमा कडा निगरानी राख्न नसक्दा पटक पटक यसले महामारीको रूप लिएको हो । यो महामारी केवल आर्थिक क्षतिको विषय मात्र होइन, जनस्वास्थ्यका दृष्टिले समेत उत्तिकै संवेदनशील छ । ‘बर्ड फ्लु’ को भाइरस मानिसमा समेत सर्न सक्ने ‘जुनोटिक’ प्रकृतिको भएकाले यसप्रति सचेत हुन आवश्यक छ । नेपालमा ‘बर्ड फ्लु’ कै कारण मानवीय क्षतिसमेत भइसकेको छ । फार्ममा काम गर्ने किसान, मजदुर, ढुवानीकर्ता र उपभोक्ताले विशेष सतर्कता अपनाउनु पर्छ । ‘बर्ड फ्लु’ को आतङ्क फैलाउने होइन यसबाट कसरी बच्ने र सुरक्षित हुने भन्नेतर्फका प्राविधिक सन्देशसहितको उपायबाट आमसर्वसाधारणलाई सूचित गर्नु पर्छ । सरकारले यसको नियन्त्रणमा अधिकतम प्रयास गरिरहेको छ । सङ्क्रमित फार्महरूमा स्रोत नियन्त्रण, कन्टेनमेन्ट तथा जैविक सुरक्षासम्बन्धी विशेष उपाय लागु गरिएको छ । ‘बर्ड फ्लु’ पुष्टि भएको फार्ममा कम्तीमा ४५ दिनसम्म नयाँ कुखुरा राख्न पाइँदैन । यसले कुखुरा तथा अन्डा उत्पादनको सम्पूर्ण चक्र अवरुद्ध बनाउँछ । प्रत्यक्ष क्षति देखिएको भन्दा धेरै छ । यसको ठुलो असर रोजगारी, चल्ला उत्पादन, दाना उद्योग र स्वरोजगार किसानमा पर्ने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)