मछिन्द्रले खाता खोल्यो
ekantipur.com · Mon Mar 13 01:14:36 GMT 2023
काठमाडौँ — लगातार दुईपल्टको डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९–८० को तेस्रो चरणमा आएर बल्ल अंकको खाता खोलेको छ । मछिन्द्रले आइतबार एन्फा कम्प्लेक्समा मनाङ मर्स्याङदीविरुद्ध गोलरहित नतिजा निकाल्दै एक अंक जोडेको हो ।
जावलाखेल र आर्मीसँग हारेको मछिन्द्रले कीर्तिमान आठपल्टको च्याम्पियन मनाङविरुद्ध केही सकारात्मक प्रदर्शन गर्यो । गोलका केही अवसर सिर्जना गर्यो । सुरुमै पूजन उपरकोटीको प्रहारमा मनाङका गोलकिपर दीप कार्कीले राम्रो बचाउ गरे । डिफेन्डर देवेन्द्र तामाङ र मैदानमा फर्किएका स्ट्राइकर विमल घर्तीमगरको प्रयास पनि असफल रह्यो । अन्त्यतिर ओमालाजा करिमले प्रहार गरेको बलमा पोस्ट बाधक बनेपछि मछिन्द्र पहिलो जित हात पार्न चुक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)