मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

सावधानी आवश्यक

rajdhanidaily.com · Wed Jun 30 23:25:00 GMT 2021

राजधानी सहर काठमाडौंलगायत उपत्यकाका तीनै सहरमा जोरबिजोर नम्बरमा गाडीहरू सञ्चालनमा ल्याइएपछि थप सावधानीको आवश्यकता पर्न गएको महसुस सबैलाई भएको छ । जोरबिजोर नम्बरमा सार्वजनिक यातायात चलेकै दिन गाडीमा निकै भिडभाड रहेको र सोचेअनुरूप यात्रीहरूको सावधानी पनि नपुगेको देखिएको छ । गाडी सञ्चालक स्वयं यात्रुहरूले चाप पारेको भन्दै भीडभाड यात्रुहरू लिएर हिँड्ने गरिरहेका छन् । ठाउँठाउँमा चेक जाँच रहे पनि यात्रुहरूको कामका चापका कारण यसो हुन गएको स्पष्टीकरण गाडी सञ्चालकले दिइरहेका छन् । अर्कोतिर पुग्नैपर्नेछ भन्दै यात्रुहरू निकै हतारहतारमा भीडभाडसहित यात्रा गर्ने गरिरहेका छन् । आवश्यक दूरी कायम गर्ने, मास्क लगाउने र सेनिटाइजरको प्रयोग गर्ने कुरालाई निकै गम्भीरताका साथ लिएको देखिँदैन । बरु, हतारहतार गन्तव्यमा पुग्नुपर्ने मात्र ध्याउन्न रहेको देखिन्छ ।

अर्कोतिर लामो समयसम्म गाडी थन्क्याएर बस्नुपर्दा साहु र बैंकको किस्तासमेत तिर्न नपाएका गाडी सञ्चालक थोरै भए पनि आम्दानी हुने लोभमा जहाँकहीँ प्यासेन्जर खोज्दै हिँडेको देखिन्छन् । यी कुराहरू कतिपय सेवासँग जोडिएका छन् त कतिपय बाध्यतासँग पनि जोडिएका छन् । यसको अर्थ गाडी सञ्चालन हुनुहुँदैन थियो भन्ने होइन । बरु, गाडी सञ्चालनमा ल्याएपछि अपनाउनुपर्ने मापदण्ड पूरा हुन सक्लान् वा नसक्लान् सोको पूरापुर ख्याल गर्नुपर्ने थियो । यसका लागि नियामक निकाय, सञ्चालक तथा यात्रुहरू बढी जिम्मेवार हुनुपर्ने देखिन्छ । तर, नियामक निकाय, यात्रु तथा सञ्चालक सबैमा धेरथोर लापर्बाही देखापरिरहेको छ । सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने र सेनिटाइजर प्रयोग गर्ने कुरामा भने जत्तिको हेक्का पुग्न सकिरहेको छैन । कोरोना महामारीको दोस्रो लहर बढी आक्रामक र नृसंश भइरहेको बेला यस्तो छुट कसैलाई पनि छैन । यसको अर्थ यातायात नै सञ्चालन गर्नुहुँदैन । यात्रा नै गर्नुहुँदैन र बस चढ्नु नै गल्ती हो भन्ने होइन । बरु, महामारीको प्रकृतिअनुसार आफूलाई सर्तक बनाएर तदनुकूलको व्यवहारमा ढाल्न र अभ्यस्त बनाउन नभुल्नु हो । तर, पनि हेर्दा सामान्यजस्तो लाग्ने तर यसैले धेरैको ज्यान लिन सक्ने वातावरण नबनोस् भन्नेमा सबै सर्तक रहनुपर्छ । थोरै पनि सतर्कता गुमाएर हेलचेक्र्याइँ गर्ने हो भने हामीहरू आफन्त हुन सक्छांै तर महामारी भने कसैको पनि मित्र वा आफन्त हुन सक्दैन । यसले पु-याउने धनजनको क्षतिलाई समयमै ख्याल गरिनुपर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)