जनयुद्ध सङ्ग्रहालय निर्माण सुस्त
gorkhapatraonline.com · Fri Jun 12 03:19:03 GMT 2026

रुकुमपश्चिमको खारामा निर्माण थालिएको ‘खारा जनयुद्ध सङ्ग्रहालय’ यतिबेला लथालिङ्ग अवस्थामा छ । सशस्त्र द्वन्द्वको समयमा भएका विभिन्न घटनालाई अभिलेखका रूपमा जीवन्त राख्ने उद्देश्यले सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । त्रिवेणी गाउँपालिका वडा नम्बर ६ र ३ को सिमाना पर्ने झुल्नेटा धुममा निर्माणाधीन खारा जनयुद्ध सङ्ग्रहालयका लागि राज्यले ठुलो लगानीसमेत गरेको थियो ।
करिब १३ करोडको लगानीमा निर्माण थालिएको यो सङ्ग्रहालय ठेकेदार कम्पनीको बेवास्ताका कारण अधुरै रहेको छ । डिभिजन वन कार्यालय रुकुमपश्चिमबाट कार्यान्वयन हुने यस योजनाका लागि जम्बुदीप जेबिजिजेभी नेपालगन्जले निर्माणको लागि ठेक्का सम्झौता गरेको थियो । २०८२ असार २९ गतेसम्म निर्माण सम्पन्न हुने गरी २०८० साउन १४ गते ठेकेदार कम्पनीसँग सम्झौता भएको डिभिजन वन कार्यालयका प्रमुख वसन्तबाबु श्रेष्ठले जानकारी दिनुभयो । सम्झौता अनुसार काम नहुँदा २०८३ असार १५ गतेभित्र काम सक्ने गरी समयावधि थप गरिएको छ । हालसम्म ६० प्रतिशत भौतिक र ४०.६७ प्रतिशत मात्र वित्तीय प्रगती भएको छ । १२ करोड ९८ लाख ९६ हजार ७३ रुपियाँ ५६ पैसामा ठेक्का सम्झौता भएको यस योजनाको लागि हालसम्म पाँच करोड ५० लाख नौ हजार ७६० रुपियाँ ८६ पैसा रकम भुक्तानी भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)