मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चेक रिपब्लिकविरुद्ध दक्षिण कोरियाको पुनरागमन जित

nepalviews.com · Fri Jun 12 04:20:41 GMT 2026

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा दक्षिण कोरियाले सानदार सुरुवात गरेको छ। मेक्सिकोको ग्वाडालजारा रंगशालामा सम्पन्न खेलमा दोस्रो हाफको १४ मिनेटभित्र दुई गोल फर्काउँदै दक्षिण कोरियाले चेक रिपब्लिकमाथि २-१ गोलअन्तरको रोमाञ्चक पुनरागमन जित दर्ता गरेको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ५९औँ मिनेटमा लादिस्लाभ क्रेज्कीले गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, चेक टोलीले उक्त अग्रतालाई जोगाउन सकेन।

अग्रता बनाएको आठ मिनेट नबित्दै दक्षिण कोरिया खेलमा फर्कियो। ६७औँ मिनेटमा ह्वाङ इनबियोमले उत्कृष्ट गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।

खेलको ७७औँ मिनेटमा चेक रिपब्लिकका थोमस सुसेकले फ्रिकिकमार्फत आएको बललाई हेडरमार्फत गोलको दिशा दिए पनि रेफ्रीले त्यसलाई अफसाइड घोषित गरिदिएका थिए। त्यसको तीन मिनेटपछि, अर्थात् ८०औँ मिनेटमा दक्षिण कोरियाका ओएच ह्योङयुले निर्णायक गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

विश्वकप इतिहासमा दक्षिण कोरियाले चेक रिपब्लिकविरुद्ध जित निकालेको यो पहिलोपटक हो। आफ्नो १२औँ विश्वकप खेलिरहेको कोरियाली टोलीले प्रतियोगिताको उद्घाटन खेलमै जित हात पारेको यो समग्रमा चौथो पटक मात्र हो।

यस जितसँगै समूह ‘ए’ मा रहेको दक्षिण कोरियाले महत्त्वपूर्ण ३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा आफूलाई सुरक्षित गरेको छ। समान ३ अंक भए पनि गोलअन्तरका आधारमा घरेलु टोली मेक्सिको शीर्ष स्थानमा रहेको छ। पराजित चेक रिपब्लिक तेस्रो र दक्षिण अफ्रिका अंकविहीन रहँदै चौथो स्थानमा सङ्कुचित भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय