अमेरिकी सेनाकी सुन्दरी जेसिकामाथि सामाजिक सञ्जालमा लाखौँ फिदा, तर वास्तविकता अर्कै
ratopati.com · Thu Mar 19 04:57:10 GMT 2026

न्युयोर्क । गत वर्षको डिसेम्बर अन्तिमतिर इन्स्टाग्राममा एउटा नयाँ अनुहार देखियो, जेसिका फोस्टर। छोटो समयमै उनले मेटाको यो प्लेटफर्ममा १० लाखभन्दा बढी फलोअर्स कमाइन्।
उनको सुन्दरता, अमेरिकी सेनाको बर्दी र राष्ट्रपति डोनाल्ड ट्रम्पसँगका तस्बिरहरूले धेरैको ध्यान खिच्यो। तर, जति आकर्षक उनको प्रोफाइल देखिन्छ, त्यसको भित्री सत्य भने निकै डरलाग्दो र अचम्मको छ। जेसिका फोस्टर नामकी यी सुन्दरी वास्तवमा कुनै जीवित मानिस नभएर पूर्ण रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट सिर्जित अवतार हुन्।
इन्स्टाग्राममा उनले अमेरिकी सैनिकका रूपमा आफ्ना क्रियाकलाप, ह्वाइट हाउसमा ट्रम्पसँगका भेटघाट र फुटबलका जादुगर लियोनल मेस्सी तथा क्रिस्टियानो रोनाल्डोसँगका तस्बिरहरू पोस्ट गर्ने गरेकी छिन्। धेरैले उनलाई वास्तविक ठानेर पछ्याइरहेका छन्, तर इन्टरनेटको खोजीमा यो नामको कुनै पनि सैनिक वा नागरिकको अस्तित्व भेटिँदैन।
जेसिकाको यो नक्कली प्रोफाइल खासमा मानिसहरूलाई ठग्न र पैसा असुल्नका लागि बनाइएको हो। उनको बायोमा एउटा लिंक राखिएको छ, जसले प्रयोगकर्तालाई ‘ओन्ली फ्यान्स’ जस्तो वयस्क साइटमा पुर्याउँछ। त्यहाँ उनीसँग कुराकानी गर्न र थप तस्बिर हेर्न पैसा तिर्नुपर्ने हुन्छ।
अचम्मको कुरा त के छ भने, उनले आफ्नो बायोमा ‘म रोबोट होइन’ भन्दै मानिसहरूलाई झुक्याउने प्रयास समेत गरेकी छिन्। यो एकाउन्टले इन्स्टाग्रामको नियम समेत उल्लंघन गरेको देखिन्छ।
नियम अनुसार हरेक एआई प्रोफाइलमा अनिवार्य रूपमा ‘एआई’ ट्याग हुनुपर्छ र त्यो कुनै वास्तविक मानिससँग सम्बन्धित हुनुपर्छ। प्रविधिको विकाससँगै यस्ता नक्कली मोडेलहरूले सामाजिक सञ्जालमा मानिसको मन मात्र जितेका छैनन्, ठूलो रकम समेत कुम्ल्याइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)