मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

युरो–१ मा छौं, युरो–६ मा कहिले ?

annapurnapost.com · Sun Feb 06 06:04:00 GMT 2022

विश्वको वायु प्रदूषणमा २५ देखि ३३ प्रतिशत यातायातबाट निस्कने धुवाँ र धूलोको हिस्सा छ। त्यही भएर सवारीसाधनले गर्ने प्रदूषण कम गर्न विश्वभर ‘मापदण्ड’ लागू गरिन्छ। दुःखको कुरा, अरू देशले युरो–६ मापदण्ड लागू गरिसके पनि नेपालमा युरो–१ कै सवारी गुडिरहेका छन्। पुराना र थोत्रा गाडीले सडक मात्र प्रदूषित गरेका छैनन्। जलवायु परिवर्तन र मानव स्वास्थ्यमा ‘विष’ छरिरहेका छन्। र, पनि सरकारी निकाय मौन छन्।

विश्वभर सवारीसाधनमा युरो ‘स्ट्यान्डर्ड’लाई मान्यता दिइन्छ। त्यसैलाई आधार मानेर विभिन्न देशले सवारी मापदण्ड लागू गर्छन्। अधिकांश देशले युरो–६ मापदण्ड लागू गरिसकेका छन्। उनीहरूले सडक प्रदूषण कम गर्न र मानव स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर सवारीमा मापदण्डको स्तरोन्तरी गरिरहेका छन्। नेपालले २०६९ सालबाट सवारी प्रदूषण मापदण्ड लागू गरेको थियो। त्यतिबेला युरो–२ बाट एकैपटक युरो–३ को मापदण्डमा जाने भनिएको थियो। तर नौ वर्ष बित्दा पनि युरो–३ लाई पूर्ण रूपमा लागू गर्न सकेको छैन। विज्ञहरूका अनुसार अहिले पनि ७५ प्रतिशत गाडीहरू युरो–१ मापदण्डकै गुडिरहेका छन्। ती गाडीले ब्लाक कार्बन, कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइड र पीएमजस्ता ग्यास उत्सर्जन गरिरहेका छन्। ती ग्यासले जलवायु परिवर्तनमा मात्र होइन, मानव स्वास्थ्यमा मुटु, दम र श्वासप्रश्वासको समस्या सिर्जना गरिरहेका छन्। प्रदूषण विज्ञका अनुसार, पीएम कोरोनाभन्दा धेरै खतरनाक हुन्छ। मुलुकमा प्रत्येक वर्ष ४२ हजार १ सयजनाको वायु प्रदूषणका कारण मृत्यु हुने गरेको छ। तीमध्ये २२ हजार मानिस पीएम २.५ का कारणले मात्रै मृत्युवरण गर्ने गरेको विज्ञहरूद्वारा हालै गरिएको एक अध्ययनले देखाएको छ। राजधानीमा भित्रिने गाडीबाट धुवाँ र धूलो बढ्न थालेको भन्दै सरकारले सवारी धुलाई मादपण्ड, २०७७ पनि लागू गरेको थियो। राजधानी भित्रिने नाकामा अनिवार्य धुलाई गर्नुपर्ने मापदण्ड पनि कागजमै सीमित छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)