उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको दौड, जेठ ८ मा चुनाव
clickmandu.com · Tue May 19 09:03:04 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारणसभाले अन्जन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमिति बनेसँगै अब महासंघको विधान अनुसार निर्वाचित कार्यसमितिबाट वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन हुँदैछन् ।
महासंघले नयाँ वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्न आगामी शुक्रबार (जेठ ८ गते) निर्वाचन गर्ने निर्णय गरेको महासंघका एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले जानकारी दिए ।
महासंघले पदाधिकारी चयन प्रक्रियामा कार्यसमितिमा आउने मनोनित सदस्यहरूलाई समेत सहभागी गराउने भएको छ । यसका लागि शुक्रबार नै कार्यसमिति बैठक बसेर ७ जना सदस्य मनोनित गरिनेछ । मनोनित सदस्यहरूलाई पनि वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचनमा मताधिकार दिइनेछ ।
महासंघको विधान अनुसार अध्यक्षद्वारा मनोनित सदस्यहरूमा सबै समूहको प्रतिनिधित्व हुने गरी कम्तिमा दुई जना महिलासहित सात जना चयन हुनेछन् । मनोनयन शुक्रबार नै गर्ने र सोही दिन वरिष्ठ उपाध्यक्ष तथा कोषाध्यक्ष चयन गर्ने निर्णय भएको पनि पाण्डेले जानकारी दिए ।
महासंघको विधान अनुसार यसअघि अध्यक्षबाहेकका पदाधिकारीहरू प्रत्यक्ष निर्वाचनमार्फत चयन हुने गरेका थिए ।
यसपटकदेखि भने वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षलाई निर्वाचित कार्यसमितिबाट चयन गरिने भएको छ । यसै पटकदेखि वरिष्ठ उपाध्यक्ष आगामी तीन वर्षपछि स्वतः अध्यक्ष हुने व्यवस्था हटाइएको छ ।
को-को छन् वरिष्ठ उपाध्यक्षको चर्चामा ?
नेपाल उद्योग वाणिज्य महासंघको विधान २०४९ लाई २०८१ मंसिरमा गरिएको सातौं संशोधनले यस पटकको कार्यकालका लागि मात्रै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार वरिष्ठ उपाध्यक्ष रहेका अन्जन श्रेष्ठ अध्यक्ष भएका हुन् । अब तीन वर्षपछि हुने निर्वाचनमा भने वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने छैनन् । अध्यक्ष साधारण सभाको चुनावी प्रक्रियाबाटै चुनिनुपर्ने व्यवस्था गरिएको छ ।
महासंघमा वरिष्ठ उपाध्यक्षका लागि निवर्तमान अध्यक्ष चन्द्र ढकालको साथ पाएका हेमराज ढकाल चर्चामा छन् । उनीसँगै अन्जन श्रेष्ठकै प्यानलबाट निर्वाचित भएका सुरकृष्ण वैद्य र रामचन्द्र संघाई पनि दौडमा छन् । संघाईलाई वर्तमान अध्यक्षको साथ हुने भन्दै उनले पनि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । त्यस्तै, सुरकृष्ण वैद्यले पनि आफ्नो दाबेदारी छाडेका छैनन्। वरिष्ठ उपाध्यक्षमा दाबी गर्नेहरूमा किशोर प्रधान र भरतराज आचार्य पनि छन् ।
आफूले टिम बनाएर साथीहरूलाई जिताएर ल्याएकाले वरिष्ठ उपाध्यक्षको दाबेदारीमा आफू अगाडि रहेको ढकालले बताएका छन् । औपचारिक रूपमै निर्वाचनअघि टिम बनाएर अगाडि बढेकाले वरिष्ठ उपाध्यक्षमा आफ्नो पहिलो दाबेदारी रहने उनको भनाइ छ ।
कोषाध्यक्षमा भने अम्बिकाप्रसाद पौडेल, मनिषलाल श्रेष्ठ र भक्त हमालको नाम अगाडि आइरहेको छ । उनीहरू आगामी शुक्रबार हुने निर्वाचनमा सहभागी हुने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)