सडक विस्तारको नाममा घरटहरा नभत्काइयोस् : सांसद थेबे
nepalpress.com · Fri Jun 12 06:19:50 GMT 2026

काठमाडौं । नेकपा एमालेका सांसद क्षितिज थेबेले ताप्लेजुङको ऐतिहासिक फुङलिङ र सुकेटार बजार क्षेत्रमा मेची राजमार्ग विस्तारका नाममा घरटहरा हटाउने प्रक्रिया अघि बढाइएकाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै सांसद थेबेले झापाको चार्लीदेखि ताप्लेजुङको ओलाङचुङगोला जोड्ने मेची राजमार्गअन्तर्गत इलामको जोर्कलसबाट पाँचथर हुँदै फुङलिङ र सुकेटार बजार क्षेत्रको सडक विस्तारका लागि घरटहरा हटाउने प्रक्रिया अघि बढाएको बताए।
उनले भने, ‘विकासको विरोध गर्न सकिँदैन र गर्नु पनि हुँदैन। तर उचित योजना, व्यवस्थापन र नागरिकको हित संरक्षण अनिवार्य सुनिश्चित हुनुपर्छ। ताप्लेजुङ जिल्ला हिमाली जिल्ला, भिरालो ठाउँ। यस बजार क्षेत्रमा ३० मिटरको सडक विस्तार लागू गर्दा बजार वारपार प्रभावित हुने, कतिपय स्थानमा छेउदेखि भित्तासम्म घरका संरचना पूर्ण रूपमा हटाउनुपर्ने हुन्छ। यस कदमले स्थानीय अर्थतन्त्रमा गम्भीर असर पर्ने देखिन्छ।’
ओलाङचुङगोला जाने सडक तमोर कोरिडोरबाट जाने तय भइसकेकोले ताप्लेजुङ ऐतिहासिक बजार र सुकेटार बजारमा सडक चाप न्यून हुने बताए।
उनले थपे, ‘विगतमा पनि यससम्बन्धी विषयमा विभिन्न प्रयासहरू भए। वैकल्पिक मार्ग निर्माणको विषय व्यापक उठेको र बनिरहेको छ। वैकल्पिक मार्ग निर्माण प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गर्दछु।’
ताप्लेजुङ हिमाली तथा भिरालो भूगोल भएको जिल्ला भएकाले बजार क्षेत्रमा ३० मिटर सडक विस्तार लागू गर्दा बजारका धेरै संरचना पूर्ण रूपमा हटाउनुपर्ने अवस्था आउने र यसले स्थानीय अर्थतन्त्रमा गम्भीर असर पार्ने उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ