मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वराजाले रोकेका हुन् धवलशम्शेर–दुर्गा प्रसाईंको नयाँ पार्टी घोषणा ?

bishowkhabar.com · Fri Jun 12 06:59:15 GMT 2026

काठमाडौं– राप्रपा परित्याग गरेका धवल शम्शेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नयाँ राष्ट्रवादी पार्टी घोषणा गर्ने तयारी गरेका छन् ।

तर मलमास (अधिकमास) चलिरहेका कारण पार्टी घोषणा कार्यक्रम हालका लागि स्थगित गरिएको छ ।

धवल शम्शेरले राप्रपा छाडेपछि विभिन्न तहका नेता–कार्यकर्तालाई समेट्दै आएका छन् भने दुर्गा प्रसाईंले आफ्नो ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान’ बिसर्जन गरेर पार्टी राजनीतिमा सक्रिय हुने निर्णय गरेका छन् ।

दुवै नेताबीच जेठ २२ गते नयाँ पार्टी गठन गर्ने सहमति भएको थियो। उनीहरू अहिले ‘प्रजातान्त्रिक राष्ट्रवादी शक्ति निर्माण अभियान’ मा सक्रिय छन् ।

पार्टीले संवैधानिक राजतन्त्र र सनातन धर्मलाई आफ्नो मुख्य विचार बनाउने बताइएको छ ।

राणाका अनुसार पार्टीको नाम, चुनाव चिह्न, विधान र सांगठनिक संरचनाको गृहकार्य अन्तिम चरणमा पुगेको छ ।

तर जेठ ३ देखि असार १ सम्म मलमास भएकाले पार्टी घोषणा पछि सारिएको हो ।

धवल शम्शेर र दुर्गा प्रसाईं दुवै राजसंस्था पुनर्स्थापनाका समर्थक हुन् ।

उनीहरू २०८१ चैत १५ मा काठमाडौंमा भएको राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा पनि एउटै मोर्चामा सक्रिय थिए ।

त्यसयता उनीहरूबीच राजनीतिक सहकार्य अझ नजिकिएको देखिन्छ ।

उनीहरूले राप्रपा नेतृत्वले राजसंस्था पुनर्स्थापनाको आन्दोलनलाई पर्याप्त सहयोग नगरेको निष्कर्ष निकालेपछि नयाँ पार्टी निर्माणको बाटो रोजेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)