भारतमा दुई करोडको डकैती, पाँच नेपालीमाथि आरोप
baahrakhari.com · Fri Mar 20 07:25:00 GMT 2026

काठमाडौं । पाँच नेपाली नागरिकमाथि भारतको हैदराबादमा विगत केही महिनादेखि शृंखलाबद्ध रूपमा सुनचाँदीसहितका सामग्री डकैतीमा संलग्न भएको आरोप लगाइएको छ । उनीहरूले दुई करोड भारतीय रुपैयाँबराबरको डकैती गरेका टाइम्स अफ इन्डिया र हैदराबादमेल अखबारमा उल्लेख छछ ।
आरोपितमध्ये एक महेश शाही (नाम वास्तविक नहुन सक्ने) हुन् । उनी त्यहाँको एउटा घरमा काम गर्थे ।
अर्की माया सिंहको नामले पनि चिनिने अप्सरा शाही (नाम परिवर्तन गरिएको हुन सक्ने) हुन् । उनले आफूलाई महेश शाहीकी श्रीमतीका रूपमा चिनाएकी थिइन् । तर, उनीहरू विवाहित नभएको जनाइएको छ । महेश र मायाले एकै घरमा काम गरेका थिए ।
अर्का एक व्यक्ति पदमबहादुर हुन् । उनी उक्त डकैती घटनाका विभिन्न सहयोगीमध्ये एक रहेको उल्लेख गरिएको छ ।
यसबाहेक अरू दुई सहयोगी सन्देश र उनकी श्रीमती काजल पनि घटनामा संलग्न रहेका जनाइएको छ । केहीले आफ्नो पहिचान लुकाउन झुटो नाम प्रयोग गरेको आरोप छ ।
पछिल्लोपटक हैदराबादको जुब्ली हिल्स क्षेत्रमा गरिएको एक ठूलो चोरीमा यी पाँच आरोपितले घरधनीका गहना, सुनचाँदी र घडीहरू लुटेका जनाइएको छ ।
यी आरोपित विगत चार दिनदेखि फरार छन् । यो घटनासम्बन्धी हैदराबादमा एफआईआर दर्ता गरिएको छ । स्थानीय प्रहरीले महाराष्ट्र, उत्तर प्रदेश र नेपाल प्रहरीको सहयोगमा यो घटनाको अनुसन्धान र खोजीकार्य तीव्र बनाएको छ ।
भारतको प्रहरी प्रशासनले यी व्यक्तिहरूका बारेमा जानकारी दिनेलाई उचित पुरस्कार प्रदान गरिने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)