निजामती सेवामा राजनीति
rajdhanidaily.com · Sun Sep 11 23:28:10 GMT 2022
राज्यको अस्तित्वमा आएदेखि नै कर्मचारी संयन्त्रको जरुरी देखिँदै गयो र सबै राज्यहरूले यसलाई स्वीकार गर्दै कर्मचारीतन्त्रको सुदृढीकरणबाटै स्थायी सरकारको भूमिकामा राखी काम गर्दै गए । प्रारम्भका दिनहरूमा निजामती संयन्त्रलाई पनि प्रहरी, सेनाकै अंगका रूपमा लिइन्थ्यो । पछि निजामती कर्मचारीको आवश्यकताका सम्बन्धमा विद्वानहरूका धेरै प्रकारका योगदानपश्चात् अस्तित्वमा आउने अवसर प्राप्त गरेको हो । राज्य व्यवस्थाको प्रारम्भतिर फर्किंदा कर्मचारीहरूलाई राजनीतिले आफ्नो सहयोगी संयन्त्र र पात्रका रूपमा व्यवहार गर्दै गयो । सरकारी कर्मचारी संयन्त्र आफ्ना नजिकका मानिस नातागोताहरूलाई जिम्मेवारी दिने ठाउँ बन्दै गयो । यसको विकासका लागि उर्वर भूमि मानिएको बेलायतमा नै त्यहाँका लर्ड, सर र सांसदले कर्मचारी नियुक्ति गर्दै जाने प्रचलन रह्यो । कतिपय यस्ता पदलाई राजनीतिक कार्यकारी पदकै रूपमा परिवर्तनसमेत हुन थाल्यो । यो प्रवृत्तिले निरन्तरता प्राप्त गर्दै जाँदा कर्मचारीतन्त्रका निश्चित वर्ग वा समूहको एकाधिकार जस्तै हुन थाल्यो ।
यो क्रमसँगै राजनीतिक दलप्रति आस्था राख्ने कर्मचारीले मात्र उसको वृत्ति विकासका विभिन्न चरणमा अवसर प्राप्त गर्ने परिस्थिति निर्माण भई संरक्षक कर्मचारी व्यवस्थाको विकास हुन पुग्यो । विश्वका खासगरी विकासोन्मुख देशका नागरिकका लागि सपनाको देशका रूपमा लिइने संयुक्त राज्य अमेरिकामा ‘लुट प्रणाली’ले लामो समयसम्म जरा गाडेर रहेको थियो । अमेरिकाको राष्ट्रपति अत्यन्त शक्तिशाली हुने र उसलाई आफ्नो कार्यसम्पादन गर्न सहज हुने प्रकारले कर्मचारी अथवा उसका सहयोगी हात कस्ता हुनुपर्ने भन्ने विषयको निर्णय लिने अधिकार अमेरिकाको राष्ट्रपतिलाई प्रदान गरिँदा मात्र त्यस्तो स्वतन्त्र रूपले कार्य गर्ने राष्ट्रपतिबाट जनताप्रति जवाफदेहिता वहन हुन सक्छ भन्ने मान्यता अमेरिकी जनताहरूमा छ । त्यसैले गर्दा लुट प्रणालीकै विकृत्तिको परिणामस्वरूप कुनै कालखण्डमा राष्ट्रपति गारफिल्डको एक बेरोजगार युवकले हत्या गरिदिँदासमेत लुट प्रणाली हालका दिनसम्म पनि अमेरिकामा समूल नष्ट गर्न सकिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)