अर्थमन्त्री वाग्लेमाथि हाललाई छानबिन गर्न आवश्यक नदेखिएको सरकारको ठहर
barnanmedia.com · Fri Jun 12 10:33:03 GMT 2026

बजेटमा थपघट र करका दरमा हेरफेर गरिएको विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि हाललाई छानबिन गर्न आवश्यक नभएको सरकारले ठहर गरेको छ।
शुक्रबार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अर्थमन्त्री वाग्लेले दिएको प्रस्टीकरण नै प्रयाप्त भएको बताए। अर्थ मन्त्रालय र अर्थमन्त्रीका सम्बन्धमा उठेका विषयमा सरकारको धारणा राख्दै प्रवक्ता पोखरेलले वाग्लेले आफूमाथि उठेका प्रश्नको जवाफ संघीय संसद् र संसदीय समितिमा दिइसकेको बताए।
अर्थमन्त्रीको स्पष्टीकरण नै पर्याप्त रहेको उल्लेख गर्दै यस विषयमा हाललाई थप कुनै प्रक्रिया आवश्यक नरहेको सरकारले ठहर गरेको प्रवक्ता पोखरेलले सुनाए। ‘अर्थमन्त्रीज्यूले सदन र समितिमा यसबारे प्रष्ट पारिसक्नुभएको छ। हाललाई योभन्दा बाहेक थप केही गर्नुपर्ने आवश्यकता सरकारले महसुस गरेको छैन,’ सरकारका प्रवक्ता पोखरेलले भने।
यस विषयमा अब आवश्यकता परेको खण्डमा विगतमा जस्तै प्रधानमन्त्री र मन्त्रिपरिषद्ले उचित कदम चाल्ने उनको भनाइ थियो।
विधेयक निर्माण र कानुन संशोधनका विषयमा बोल्दै मन्त्री पोखरेलले सम्बन्धित मन्त्रालयहरूबाट प्राप्त प्रस्तावहरू मन्त्रिपरिषद्मा छलफल भई पारित भएपछि मात्र थप जानकारी दिइने बताए।
यससँगै माध्यमिक शिक्षा परीक्षा (एसईई) सँग जोडिएका अनियमितताका प्रसङ्गमा मन्त्री पोखरेलले हालसम्म मन्त्रालयमा कुनै औपचारिक जानकारी प्राप्त नभएको बताए। यद्यपि, परीक्षा सञ्चालनमा कुनै कमजोरी वा अनियमितता भएको पाइएमा त्यसमा संलग्न जोसुकैमाथि छानबिन गरी कारबाही गरिने उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
स्वर्णिम वाग्ले