मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

स्वास्थ्य संकट घोषणा गरेर भए पनि सेवा देऊ

rajdhanidaily.com · Wed May 12 23:06:01 GMT 2021

कोरोना महामारीको संक्रमण अब सामान्य अवस्थामा रहेन । बढ्दो मृत्युदर हेर्दा अब स्वास्थ्य संकट घोषणा गरेर भए पनि सेवा दिनुपर्ने अवस्था सिर्जना भइसकेको छ । दिन प्रतिदिन असामान्य रूपमा उकालो लागिरहेको संक्रमित र मृत्युदर अहिलेको व्यवस्थापनले धान्न सक्ने देखिँदैन । एकातिर जनस्वास्थ्यका तयारी, व्यवस्थापन र तीनको प्रयोगमा पुरानै तरिका, विधि, प्रक्रिया र औषधिसमेतले निरन्तरता पाएको देखिन्छ भने अर्कोतिर महामारीले अर्को रूप धारण गरी ती पुराना विधि, मान्यता र प्रक्रियालाई मात गरी अगाडि बढिसकेको देखिन्छ । स्वास्थ्य सेवाका पुरानै तरिका र कोरोना संक्रमणको नयाँ भेरियन्टबीच ठूलो अन्तर्विरोध देखिन्छ । दिइरहेको सेवाले पनि प्रभावकारी रूपमा बिरामीलाई निको पार्न मद्दत गरिरहेको देखिँदैन । यी विधि र प्रक्रिया पुराना भइसकेका हुनाले पनि नयाँ भेरियन्टमा यिनको प्रभाव ज्यादै कम देखिएको छ । अर्कोतिर कोरोनाको नयाँ प्रकार यसको संक्रमण र प्रभाव निकै व्यापक र संगीन प्रकृतिको देखिएको छ । त्यसैले, संक्रमित बिरामीको अवस्था, उपलब्ध स्वास्थ्य सेवा र बिरामीको शरीरमा उत्पन्न हुनुपर्ने रोग प्रतिरोधात्मक क्षमताबीचमा असमज्यस पैदा हन पुगेको देखिन्छ । यसले न त रोगविरुद्ध रोगप्रतिरोधात्मक शक्तिको विकास गर्न सहजीकरण भइरहेको देखिन्छ । न त सो भेरियन्टविरुद्ध गरिएको खर्च र उपचार पद्धतिमा वैज्ञानिकता र समसामयिकता आउन सकेको देखिन्छ ।

यही रोग र त्यसविरुद्ध गरिएको उपचारबीचमा विमेल हुँदा पैदा हुन गएको संकट नै बिरामीको निस्फल उपचारमा परिणत हुन गएको छ । यसले संक्रमित बिरामीको मृत्युदर दिन प्रतिदिन बढाइरहेको छ भने देशको स्वास्थ्य अवस्था भयावह बनाइरहेको छ । यस्तो अवस्थामा प्रारम्भिक रोकथामका लागि आवश्यक पर्ने औषधि र अक्सिजनजस्ता आधाभूत कुराको समेत अभाव हुन जाँदा बिरामीका परिवारले सास्ती भेग्नुका साथै संक्रमित बिरामीले देह त्याग गरिरहनुपरेको छ । यो अवस्थालाई अन्त्य गर्न सिंगो चिकित्सा क्षेत्रमा नयाँ खालको नीति, विधि र प्रक्रियाको उपचार पद्धति अपनाइनु जरुरी हुन गएको छ । यसलाई कार्यान्वयन गर्न सरकराले नै सचेत किसिमले जिम्मेवारीसहित दायित्व वहन गर्न तयार रहनुपर्छ । यो दायित्व आफैंमा सिंगो राज्यसत्ताको स्वास्थ्य क्षेत्रमा देखिएको संकट समाधानको कार्यकारी तथा अभिभावकीय दायित्व हुन जानेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)