मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री सोविता गौतमसँग नीति अधिकृत Kiah Sassal ले शिष्टाचार भेटघाट

barnanmedia.com · Tue May 19 15:41:28 GMT 2026

कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री सोविता गौतमसँग Asia/Pacific Group on Money Laundering (APG) का उपकार्यकारी सचिव David Shannon र नीति अधिकृत Kiah Sassal ले शिष्टाचार भेटघाट गर्नुभएको छ।

भेटका क्रममा APG का उपकार्यकारी सचिवले नेपाललाई सम्पत्ति शुद्धीकरणको सघन सूची (Grey List) बाट हटाउनका लागि भइरहेका प्रयास, मूख्यत: सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित विभिन्न कानूनको कार्यान्वयनको सम्बन्धमा आवश्यक पर्ने समन्वय, सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरको अनुसन्धानसँग सम्बन्धित विभिन्न निकायहरू बिचको समन्वय र अन्तरसम्बन्ध, कसूरजन्य सम्पत्ति तथा साधन रोक्का, नियन्त्रण र जफतका विषय तथा सम्पत्ति शुद्धीकरण निवारणमा संलग्न दक्ष मानव संसाधनको विषय औल्याउनु भयो।

मन्त्रीज्यूले वर्तमान सरकारले सम्पत्ति शुद्धीकरणको विषयलाई गम्भीर रूपमा लिएको र नेपाललाई Grey List बाट बाहिर ल्याउन सरकारको तर्फबाट गर्नु पर्ने कार्य प्राथमिकतामा रहेको विषय व्यक्त गर्नुभएको छ।यस क्रममा मन्त्रीज्यूले अन्तरनिकाय बिच हुने समन्वय र अन्तरसम्बन्धलाई थप सुदृढ गर्ने तथा सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित निकायहरूको कार्यमा प्रभावकारीत बढाउनको लागि आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्नु भयो।यसको साथै पारस्परिक कानूनी सहायतालाई प्रभावकारी बनाईने र यसक्रममा गणतन्त्र भारत र जनवादी गणतन्त्र चीनसँग पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता भईसकेको तथा अन्य देशहरुसँग समेत सम्झौता गर्दै यसलाई विस्तार गर्दै जाने योजना रहेको कुरा व्यक्त गर्नुभएको छ।सम्पत्ति शुद्धीकरण निवारणमा दक्ष मानव संसाधनको संलग्नता र संलग्न मानव संशाधनको निरन्तरताको विषयमा नेपाल सरकार प्रतिबद्ध रहेको कुरा व्यक्त गर्नु भयो।कसूरजन्य सम्पत्ति तथा साधन रोक्का, नियन्त्रण र जफतका विषयमा प्रचलित कानूनमा गर्नु पर्ने सुधारका विषयमा सम्बन्धित मन्त्रालयमा कानून निर्माणको क्रममा रहेको र कानून मन्त्रालयमा मस्यौदा प्राप्त भएपछि प्राथमिकताका दिई प्रक्रिया अघि बढाईने व्यहोरा मन्त्रीज्यूले अवगत गराउनु भयो।

वर्तमान सरकार सुशासनप्रति प्रतिबद्ध रहेको, यो सरकारलाई प्राप्‍त भएको जनादेश र राष्ट्रिय प्राथमिकतामा पनि सम्पत्ति शुद्धीकरण निवारणको विषय उच्‍चतम् भएको र आगामी दिनहरूमा APG बाट हुने प्राविधिक सहयोगका विषयलाई निरन्तरता दिने विषयमा मन्त्रीज्यू APG का प्रतिनिधिहरूसँग सार्थक छलफल भयो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)