सरुवा भएका प्रहरी निरीक्षकहरूलाई महानिरीक्षक कार्कीको निर्देशन, ‘व्यक्तिगत स्वार्थ त्यागेर नागरिक केन्द्रित बनौँ’
ratopati.com · Fri Jun 12 11:21:35 GMT 2026

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिक केन्द्रित सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राख्न मातहतका प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन्।
प्रहरी कर्मचारीहरूले आफ्नो बोलीवचन र दैनिक व्यवहारमा सुधार ल्याउनुपर्ने बताउँदै उनले अनुशासित, कर्तव्यनिष्ठ र उच्च व्यावसायिकता प्रदर्शन गर्दै प्राप्त जिम्मेवारी वहन गर्नुपर्ने कुरामा जोड दिएका छन्।
हालै सरुवा भई आ–आफ्नो नयाँ कार्यक्षेत्रमा खटिन लागेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नयाँ जिम्मेवारी सम्हाल्न लागेका अधिकृतहरूलाई उनले उपलब्धिपूर्ण र उत्कृष्ट कार्य सफलताको शुभकामना समेत दिए।
निर्देशनका क्रममा प्रहरी महानिरीक्षक कार्कीले आ–आफ्नो कार्यक्षेत्रमा देखा पर्न सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको सूक्ष्म विश्लेषण गर्न आग्रह गरे। सोही विश्लेषणका आधारमा चुस्त सुरक्षा योजना अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै उनले नेपालको संविधान, ऐन र कानुनले निर्दिष्ट गरेको जिम्मेवारी पूर्ण निष्ठाका साथ वहन गर्न निर्देशन दिए। समाजमा शान्ति सुव्यवस्था कायम गर्नका लागि सूचना संकलनलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो। उपलब्ध जनशक्तिको प्रभावकारी व्यवस्थापन र परिचालन गरेर मात्रै शान्ति सुरक्षा बलियो बनाउन सकिने उनले प्रष्ट पारे।
प्रहरी महानिरीक्षक कार्कीले व्यक्तिगत स्वार्थ भन्दा सांगठनिक स्वार्थलाई सधैँ केन्द्रबिन्दुमा राख्न प्रहरी अधिकृतहरूलाई सचेत गराए। संगठनको नीति र निर्देशनको प्रभावकारी कार्यान्वयन गर्दै नेपाल प्रहरीको साख र प्रतिष्ठा वृद्धि हुने गरी कार्यसम्पादन गर्न उनले उपस्थित प्रहरी कर्मचारीहरूलाई कडा निर्देशन दिए। सम्पूर्ण प्रहरी कर्मचारीहरूले पारदर्शी, कानुनसम्मत र कुनै पनि प्रकारको विभेदरहित ढंगले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा उनले जोड दिए। आम नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाह गर्न सधैँ कटिबद्ध रहनुपर्ने उनको निर्देशन थियो।
उक्त निर्देशन कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी, कार्य विभागका प्रहरी नायव महानिरीक्षक अरुण पौडेल र अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईको समेत उपस्थिति रहेको थियो। उनीहरूले समेत सरुवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई आगामी कार्यदिशा, कार्यक्षेत्रमा अपनाउनुपर्ने सतर्कता र समसामयिक सुरक्षा विषयहरूमा आवश्यक निर्देशन दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)